रूपन्देही । साेमबार साँझ रूपन्देही अाएका एमाले अध्यक्ष केपी शर्मा ओलीले
हुलाकी सडक निर्माणको काम प्रत्यक्षरुपमा आफैले हेर्दै साे सडक खण्डमा रोकिएर स्थानीयसंग संवाद गर्ने कार्यक्रम तय भएकाे छ । मंगलबार दिउसाे कपिलवस्तुकाे बहादुरगन्जमा जसपा नेता मंगलप्रसाद गुप्तासहित ठूलाे संख्यामा अन्य पार्टीबाट एमाले प्रवेश गराउन उनी अाएका हुन् । मौसमी प्रतिकुलता भएमा जहाज उड्न समस्या आएर कार्यक्रम प्रभावित हुने भन्दै एक दिनअघि नै रुपन्देही आएर बसेकाेले नै याे कार्यक्रमलाई ओलीले विशेष महत्त्व दिएकाे एमाले कपिलवस्तुका नेता भेषराज पाण्डेले बताए । अध्यक्ष ओलीले रविहान हुलाकीका विभिन्न खण्डमा गाडी रोकेर प्रत्यक्ष हेर्ने र जनतासंग छलफल गर्ने उनले बताए ।
ओलीले हुलाकी हेर्ने चाहना राखेपछि कपिलवस्तु प्रशासनले हुलाकी सडकमा सुरक्षा परिचालन गरेको छ भने मुख्य ठेकेदारलाई समेत ओलीले भेट्ने र काम कहिले पूरा हुन्छ भनेर सोध्ने चाहना राखेपछि सोको समेत व्यवस्था मिलाइएको छ । लामाे समय भारतले बनाउने आश्वासन पूरा नगरेपछि ओलीले अाफ्नाे कार्यकालमा हुलाकी सडकका लागि बजेट विनियोजन गरेर धमाधम काम भई रहेको छ । अहिले कपिलवस्तु सदरमुकाम तौलिहवाको जमुहारदेखि विजनगर गाउँपालिकाको तुरन्तपुरसम्म जोडिने ५० किलोमिटर हुलाकी सडक निर्माणको काम सुचारु भएको छ । ठेकदार पक्षले निर्माण अवधि २०८० सालसम्म भएको बताउँदै सडक, नाली भत्काएर लामो समयसम्म सडक लथालिंग हुँदा आवतजावतमा स्थानीयलाइ निकै समस्या हुँदै आएको थियो । राष्टिय गौरवको आयोजना अन्र्तगत करिव तीन अरव रुपैयाँको लागतमा तौलिहवा बजार क्षेत्रमा पर्ने मुख्य सडक ठेकेदार शर्मा एन्ड शर्मा कम्पनीले निर्माणको जिम्मा पाएको थियो ।
स्थानीय बासिन्दा, प्रशासन र हुलाकी सडक आयोजनाले ठेकदार पक्षलाई सडक निर्माण गर्न दवाव दिएसँगै हाल आएर कामले तीव्रता पाएको हो । विगतमा वर्षातको समय र कोभिडका कारण निर्माणमा केही ढिला भएपनि हालआएर ५१ प्रतिशत काममा प्रगति भएकाले समयमै सम्पन्न हुने हुलाकी सडक आयोजनाका इन्जिनियर शरद आचार्यले जानकारी दिएका छन् । पर्यटकीय नगरी तिलौराकोट लगायतका स्थानमा पर्यटकका साथै स्थानीयले आवतजावत गर्ने सडक यहीं पर्दछ ।