३ चैत, गायक तथा र्यापर बालेन शाह काठमाडौं महानगरको मेयरमा उठ्ने घोषणा गरेपछि सामाजिक सञ्जाल उनी मा चर्चामा छन् ।
सरकारले वैशाख ३० गते स्थानीय चुनाव गर्ने निर्णय गरेलगत्तै उनले कुनै पनि दलको समर्थन नलिई स्वतन्त्र रुपमा काठमाडौंको मेयरमा उठ्ने घोषणा गरेका थिए ।
लेखक तथा साहित्यकार गनेस पौडेल पनि उसैगरी चर्चामा छन् । स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन माग गर्दै पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका उनले आफैंलाई ‘अटेरी’ नाम समेत दिएका छन् । उनी भन्छन, कसैले मलाई समर्थन गर्छ भने फरक कुरा हो तर दलको चुनाव चिह्न लिएर उठ्दिनँ ।’
पौडेलले पोखरा महानगरमा मेयर भए आफूले निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य, लैंगिक सुरक्षा र शहरी सौन्दर्यर्तालाई प्राथमिकता दिने योजना बनाएका छन् ।
वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि राजनीतिक दलहरु गाउँ पसिसकेका छन् । ठूला दलले धमाधम पार्टी प्रवेश गराउने र विभिन्न अभियान चलाउने गरिरहेका छन् । बालेन र गनेश जस्ता केही युवाले भने दलको समर्थनविना नै चुनाव लड्ने तयारी गरिरहेका छन् ।
बनेपा नगरपालिकाको मेयर नगर प्रमुख को पदका लागि स्वतन्त्र उम्मेद्बारी दिने अर्का व्यक्ति हुन राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल का अध्यक्ष राजान्द माण्डव्य । उनी सामाजिक संजाल मार्फत नगरपालिकाको मेयर को पदमा उम्मेदवारी दिने घोषणा गरेका छन उनी भन्छन मैले देखेका सपना,तपाईहरुले देखेका सपनालाई हाम्रो साझा सपनाको रुपमा पूरा गर्दै नेपालकै समृद्ध, नमुना, प्रविधिमैत्री, एग्रो टुरिजम र स्याटलाईट सिटिको रुपमा बनेपा नगरपलिकालाई बिकास गर्ने गुरुयोजना सहित उम्मेद्बारी दिएको छु ।
यसअघि विवेकशील साझा पार्टी सुदूरपश्चिम प्रदेश संयोजक रहेका गोपाल हमालले दल त्याग्दै धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । उनी यसअघि पनि स्वतन्त्रबाटै मेयरमा लडेका थिए । तर कांग्रेसका नृपबहादुर भन्दा पछि परे । यो पटक स्वतन्त्र रुपमा उठ्न लागेका उनले चुनावी तयारी सुरु गरिसकेका छन्
त्यस्तै बाँकेको कोहलपुर नगरपालिकाका देवानन्द अर्यालले भने घरदैलो अभियान नै थालिसकेका छन् । कोहलपुरमै पाँचतारे होटल र बर्दियामा रिसोर्ट सञ्चालन गरिरहेका अर्यालले पार्टी प्रवृत्तीको सिन्डिकेट तोड्न कोहलपुरको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् । ‘हामी गैरदलीय स्थानीय तहको निर्वाचन बनाउने अभियानमै छौं । स्वतन्त्र नै लडेर म कोहलपुर नगरपालिकामा केही गर्नसक्छु कि भनेर लागिरहेको छु’, अर्याल भन्छन्, ‘राजनीतिक परिवर्तनको लागि मात्रै आन्दोलन भएता पनि अब सामाजिक र आर्थिक विकास आवश्यक छ ।’ वैदेशिक रोजगारीको सिलसिलामा अर्यालले आठ वर्ष कोरिया बसेर आएपछि नेपालमा होटल तथा पर्यटन व्यवसाय सुरु गरेका थिए ।
महिलाहरुले नेतृत्व गर्न सक्छन् भन्ने प्रमाणित गर्ने भन्दै पर्वतारोही माया गुरुङले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिकाको अध्यक्षको उम्मेदवारी घोषणा गरेकी छन् । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका दिन उम्मेद्वारी घोषणा गरेकी उनी भन्छिन् ‘महिलाहरु आर्थिक, सामाजिक र राजनीतिक रुपमा सक्षम हुनुपर्छ, महिलालाई कोटामा मात्र सीमित गर्न हुँदैन भनेर मैले उम्मेद्वारी दिन लागेको हुँ ।’
बाग्लुङ नगरपालिकाकी नितु खड्काले मेयरको उम्मेद्वारी घोषणा गरिसकेकी छिन् । रजिष्टर नर्स रहेकी खड्काले नगरपालिकालाई युवा उम्मेद्वारले हाँक्न सक्ने भन्दै मेयरको उम्मेद्वारी घोषणा गरेको दाबी गरेकी छन् ।
यस्तै काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा पनि सुमित पोखरेलले मेयरको उम्मेद्वारी घोषणा गरेका छन् ।
२०७४ सालको चुनावमा पनि ६ वटा स्थानीय तहमा प्रमुख, ५ वटामा उपप्रमुख, ९१ जना वडाध्यक्ष सहित १ सय ३१ जना वडा सदस्यमा स्वतन्त्र उम्मेद्वार विजयी भएका थिए । उनीहरु मध्ये अधिकांश दलले टिकट नदिएपछि ‘बागी’ बनेका दलका कार्यकर्ता नै थिए । तर अहिले दललाई चुनौती दिंदै दलको सदस्यता नै नलिएका कलाकार, साहित्यकारदेखि व्यवसायीसम्मले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
#उम्मेदवारी #स्थानीय तह #स्वतन्त्र