सिधा कुरा डटकमका पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेल जेल चलान

काठमाडौं । अदालतको अवहेलना ठहर भएका सिधा कुराका पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेल जेल चलान भएका छन् ।

उनीहरू केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका हुन् ।

फेसबुकमार्फत पत्रकार ढुंगानाले सर्वोच्च अदालतको फैसलालगत्तै फैसलालाई सम्मान गर्दै केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएको जनाएका छन् ।

उनले लेखेका छन्, ‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै म र मेरो प्रकाशक एवम् तपाईंहरूको प्रिय प्रस्तोता युवराज कडेल केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका छौँ । प्रिय पाठक र स्रोताहरु हामी फेरि समाचार लेख्नै आउने छौँ । हामी समाचार लेख्न नै जन्मिएका हौँ। समाचारको धर्मबाट कहिल्यौ बिचलित हुने छैनौं ।’

 

सर्वाेच्च अदालतले सिधा कुरा नामक अनलाइन र त्यसमा संलग्न व्यक्तिहरुले अदालतको मानहानी गरेको ठहरसहित सजाय तोकेको हाे ।

सर्वोच्च अदालतको  वृहत पूर्ण इजलासले आइतवार निर्णय सुनाउँदै कथित अडियो रेकर्ड गर्ने राजकुमार तिमल्सिनालाई ६ महिना कैद सजाय तोकेको छ । त्यस्तै सिधाकुराका सम्पादक युवराज कडेल र नविन ढुंगानालाई ३ महिना कैद सुनाएको छ ।

युवराज कँडेल र नविन ढुंगानाले कथित अडिओको सत्य तथ्य परीक्षण नगरी प्रसारण गरेको हुनाले ३ महिना कैद सजाय तोकिएको हो ।

उनीहरुले लिखितरुपमा अदालत समक्ष माफी मागेमा ७ दिनमात्र कैद बसी अरु कैद निलम्बन हुने भनिएको छ ।

सीधा कुरा अनलाइनलाई ५ हजार जरिवाना तोकिएको छ । अनलाइनबाट लिखित माफी मागेमा सो जरिवाना माफी हुनेछ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल रहेको ९ सदस्यीय इजलासमा गत साउन १७ गते नै सुनुवाइ सकिएको थियो ।

सिधाकुराले ‘द डार्क फाइल’ नाम दिएर शृंखला प्रसारण गरेको थियो ।

सिधा कुराले प्रसारण गरेको विवादित अडिओका विषयमा सर्वोच्च अदालत प्रशासनले नै प्रतिवेदन उठाएर अदालतको अवहेलना मुद्दा दायर गरेको थियो ।

उक्त अनलाइनले अख्तियारको स्टिङ अप्रेसनवाला मुद्दाका अभियुक्तहरुलाई सफाइ दिलाउने भन्दै कान्तिपुरका सन्चालक कैलाश शिरोहिया,अन्नपूर्णका रामेश्वर थापा,न्यायाधीश आनन्दमोहन भट्टराईलगायतको संवाद भनिएको अडियो प्रसारण गरेको थियो ।

सो अडिओ फेक रहेको र अदालतको मानहानी भएको भन्दै सर्बोच्च प्रशासनबाटै रिट दायर भएको थियो ।

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते