वृक्ष आफू काटिन्छ उसले फल्न छोडे!
बाँच्न दिदैन समाज रङ बदल्न छोडे!
अबको यात्रा काँडामा टेकेर हिड्नुछ
ज्यान जोखिममा पर्छ चप्पल नछोडे!
मैले म हुनुको अस्तित्व गुमाउनु पर्नेछ,
तिम्रो यादमा तड्पिने अम्मल नछोडे!
बले जिउँदै मर्छन् निर्दोष पुतलीहरु,
गाउँ अन्धकार हुन्छ टुकी बल्न छोडे!
अपांग सन्तान सँगै भोकभोकै मर्नेछन्,
बा थला, आमाका पाखुरा चल्न छोडे!
२.
नपुग्दै शिखरमा ढलेकाहरूले
छरे के उज्यालो बलेकाहरूले?
सिसाझै फुटेको छ यो भाग्य तेरो
भनेनन् खरानी दलेकाहरूले
अगुल्टो र प्रेमी नठोक्नू जलिन्छ
सुनेनौ भनेको जलेकाहरूले
गरे धीरता नै सफलता बटुल्न
शिखर त्यो चुमेछन् गलेकाहरूले
बजारमा कसैको गजल बेचिएछ
मुनाफा कमाए चलेकाहरूले
३. असाध्यै छ आकाशमा डर मलाई
चरा भन्छ दे पिञ्जडा घर मलाई
छुरा रोप्न आफन्त नै अग्रसर छन्
बुझोस् को यहाँ दु:खको मर्मलाई
सिसाको महलमा बसेकोछ आफू
कसैले बनाएर पत्थर मलाई
म रोएँ भने आँसु सङ्गै बगौला
नदेऊ तिमीले त्यो अवसर मलाई
पिएको छु जीवन पिएकै छु पीडा
नलाऊ नशा पिउन क्यै कर मलाई
©सन्देश ज्ञवाली