सतर्क रहौं, गच्छे अनुसारको दशैं मनाऔं, शुभकामना

बिज्ञापन

बडा दशैं २०७८ हाम्रो घर–आँगनमा आएको छ । पृष्ठभूमिमा आशा, उत्साह, उमंग, हाँसो, खुशी, रोदन– व्यक्ति र परिवार पिच्छे फरक भएपनि सदाझैं दशैं आयो । कोरोना संक्रमणलाई पन्छाउँदै र अस्थिर राजनीतिलाई चिर्दै समयले पानो पल्टायो, दशैं आयो । हरेक वर्ष शरद् ऋतुको आगमनसँगै प्रकृति पनि दशैंमय हुने गर्दछ ।

बिज्ञापन

वर्षा, बाढी–पहिरो र प्राकृतिक विपत्तिपछि खुलेको मौसमका साथ दशैं आएको छ । नेपाली जीवनशैलीसँग जोडिएको पर्व दशैंले कामकाजको व्यस्तता, शारीरिक थकानलाई क्षणिक विश्राम दिएको छ । हुनेखाने र भए खाने सबैले दशैंलाई स्वागत गरेका छन्, गर्ने प्रयास गरेका छन् । दशैं परदेशिएका नेपालीका लागि बढी नै संवेदनशील हुने गर्दछ ।

इन्टरनेट र डिजिटल प्रविधिको युगले परदेश भएका आफन्तलाई समेत हातैमा आँखै अगाडि ल्याए पनि सशरीर उपस्थित हुन नसक्दाको पीडा चोटिलो बनेर प्रकट हुन्छ । धर्म, संस्कार र हाम्रा अग्रजले मान्दै आएको दशैंका धेरै पक्षहरुमा परिवर्तन आइसकेको छ । नेपाली संस्कृति, परम्परा, मान्यता, विश्वास र चलनहरुमा विस्तारै प्रविधिको प्रभाव छ ।

बिज्ञापन

दशैंकै लागि ढिकी वा ओखलमा चिउरा कुट्ने, खशी पाल्ने, दशैंमा जाँते, लिंगे र रोटेपिङ हाल्ने, परदेशिएका देखि घर बसेकासम्म जम्मा भएर मिठो–मसिनो एउटै भाँडा र एउटै भन्सामा बनाएर खाने चलन अब प्रायः देखिन्न । ढिकी र जाँतोमा केन्द्रित मातृजातिले मुक्ति पाउनु स्वागत योग्य पनि छ ।

तर, विगतमा दशैं आम नेपालीका लागि सामाजिक सद्भावको चाड थियो, तर आज मात्र हिन्दुले थेग्नुपरेको छ यसलाई । म तिम्रो बुद्धलाई ढोग्छु तिमी मेरो शिवलाई दाहिना पारेर घुमिदेऊ भन्ने आह्वानसम्म त स्वीकारिएको छ, तर इशु र मोहम्मदका नाममा बाँडिनेहरुलाई निकट ल्याउन थप प्रयासको खाँचो देखिन्छ ।

हामी नेपाली जाति पैसा र प्रविधिले नभएर कला, संस्कृति र पुर्खाका देनले धनी छौं । यद्यपि हाम्रो धनलाई पूँजीवादले पुरिदिएको छ । डलर र पौण्ड त टाढाको कुरा, भारुलाई पछ्याउन पनि हामीलाई पसिना छुटिरहेका कारण हाम्रो साँस्कृतिक सम्पन्नताको मूल्य घटेको छ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य देखाउँन हामी आफैले यसलाई उच्च सम्मान दिन सक्नुपर्छ भन्ने वास्तविकतालाई बुझ्न नसकेकै कारण हाम्रा धनको अवमूल्यन भएको छ ।

साँस्कृतिक सम्पन्नतालाई संघीय लोकतान्त्रिक गणतन्त्रसँगै स्थापित गर्नु–गराउनु हाम्रालागि चुनौतीको विषय बनेको छ । हाम्रो सांस्कृतिक मौलिकतालाई पहिचान दिन र यसलाई नगदमा रुपान्तरण गर्न सकेको भए आज हुनेखाने र भए खानेबीच दशैंको जो विभेदको खाडल छ, त्यसको दुरी घट्नेथियो । सबैलाई दशैं आउने थियो ।

प्राकृतिक सौन्दर्य र सामाजिक संस्कृति हेर्नका लागि मात्र पनि विदेशी पर्यटक नेपालमा ओइरिन्छन् । हामीले हाम्रो अमूल्य संकृति जोगाउन सक्यौं भने र योजनाबद्ध विकासका तन्तुहरु जोड्न जान्यौं भने शरद मात्र होइन नेपालीलाई सधैं दशैं आउँनेछ । वर्तमान अवस्थामा कोरोना संक्रमणबाट जोगिएर दुख–सुख दशैं मनाऔं, सुरक्षित रहौं, सुरक्षित रहे र संस्कृतिलाई संरक्षण गर्नसके आगामी दिनमा अझ भव्य दशैं मनाउन पाइने नै छ, विजया दशमीको देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा दाजुभाई दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।

सम्बन्धित खवर

रुपन्देहीको देवदहमा संचालित मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

उनी संग फेरी भेटै भएन…

पाल्पामा बोक्सी झार्न भन्दै महिलामाथि निर्मम कुटपिट

आईपीएल फाइनल आज: उपाधिका लागि कोलकाता र हैदराबाद भिड्दै

पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियान देशभर सुरु

देवदहमा महिला प्रजनन् स्वास्थ्य सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कृकेटर सन्दीप लामिछानेको अमेरिका यात्रा आउने सातासम्म निश्चित हुने

सडक निर्माणमा अलपत्र पारेकाे भन्दै मेयर बालेनले खन्याए सडक विभाग अगाडी एक ट्रक धूलो