काठमाडौ । पछिल्लो एक महिनामा शेयर बजारले दिनदिनै जसो रेकर्ड कायम गरेको छ । आज हालसम्मकै उच्च कारोबार भयो ।
आइतबार २५ अर्ब ७७ करोड रूपैयाँ बराबरको कारोबार भयो ।
बजारले २८ सय बिन्दु पार गरेसँगै लगानीकर्ता उत्साहित देखिएका छन् । आइतबारकाे शेयर बजार ९४.५३ अंकले बढ्दा नेप्से परिसूचक २८६०.९१ बिन्दुमा अडिएको छ ।
यसअघि पौने २४ अर्ब रूपैयाँसम्मको कारोबारको रेकर्ड थियो । आज ९ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।
सर्किट लाग्ने कम्पनीहरूमा अधिकांश जलविद्युत र केही लघुवित्त कम्पनी छन् ।
आज नेशनल हाइड्रोपावर कम्पनी, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था, हाइड्रो इलेक्ट्रीसिटी डेभलपमेन्ट एण्ड कम्पनी, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, शुभम पावर लिमिटेड,आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयरमा सर्किट लागेको छ ।
यस दिन ३३० कम्पनीको ६ करोडभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । १ अर्ब ५२ करोडसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा छ ।
बजारमा ठूला र संस्थागत लगानीकर्ताको प्रवेश भएकाले नेप्सेले पछिल्लो समय आकर्षक वृद्धि हासिल गर्न सकेको हो ।
नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताका लागि मार्जिन लेण्डिङका लागि लगाउँदै आएको सीमा खारेज गरेसँगै संस्थागत लगानीकर्ता पनि हौसिएको देखिन्छ । यस्तै पछिल्लो बढेको कारोबारमा नयाँ लगानीकर्ताको प्रवेश पनि बढिरहेको छ ।
अर्थमन्त्रीमा विष्णु प्रसाद पाैडेलकाे नियुक्तीकाे दिन देखी शेयर बजार बढ्न सुरू गरेकाे हाे ।