विभिन्न कार्यक्रम गरि बाल दिवस मनाउने तयारी-नेपाल बाल संगठन
सुरज भट्टराई, बुटवल । नेपाल बाल संगठनले बाल दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरेर बाल दिवस मनाउने तयारी गरेको छ । नेपाल बाल संगठनले यही भदौ २६ गते विद्यालय स्तरका विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको संगठनका अध्यक्ष साजन भण्डारीले जानकारी दिनुभएको थियो ।
संगठनले बाल दिवसका अवसरमा कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरूको बिचमा वक्तृत्वकला प्रतियोगिता, कक्षा ८-१० सम्मका विद्यार्थीहरूको बिचमा वादविवाद प्रतियोगिता र विद्यालय स्तरीय एकल लोक नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘विभिन्न विद्यालयहरूमा सहभागिताका लागि पत्राचार गरिएको छ ।’ – सभापति भण्डारीले भन्नुभयो ।
विद्यालयहरूले आफ्नो विद्यालयको लेटर हेडमा विद्यार्थीको नाम सिफारिस गर्नुपर्ने समेत जानकारी दिनुभयो। विजेतालाई प्रमाण पत्र र ट्रफी प्रदान गरिनेछ । सहभागी प्रतियोगीलाई प्रमाण पत्र प्रदान गरिनेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु.१० हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार सहित प्रमाणपत्र र ट्रफी समेत प्रदान गरिने संगठनका सचिव कल्पना पांडे मगरले जानकारी दिनुभयो ।