बुटवल । लुम्बिनी फोटोग्राफर संघले १८ औँ बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ ।
फोटोग्राफरहरुको हक हित र व्यवसायिक फोटोग्राफीको विकासमा समर्पित संस्था लुम्बिनी फोटोग्राफर संघको १८ औं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम संघका अध्यक्ष दिनेश अर्यालको अध्यक्षतामा बुटवलमा बुधवार सम्पन्न भएको छ ।
बुटवल उप महानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यमा भएको सभाको उद्घाटन कार्यक्रममा पुराना तथा नयाँ फोटोग्राफर एबम सल्लाहकारहरुलाई सम्मानगर्दै संस्थाका गतिविधि, उपलब्धि र भावी योजना प्रस्तुत गरिएका थिए ।
कार्यक्रममा बोल्दै बुटवलका नगर प्रमुख पाण्डेले फोटो मार्फत पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउन सबैलाई आग्रह गरे । फोटोले हजार शब्दको बर्णन गर्ने भन्दै उहाँले लुम्बिनी फोटोग्राफर संघले सामाजिक प्रगतिमा उल्लेखनिय कार्य गरेको समेत बताए। पर्यटन प्रबर्द्धनका लागि उपमहानगर हरदम तयार रहेको बताउदै नगर प्रमुख पाण्डेले सहकार्यका लागि अघि बढ्न आग्रह समेत गरे। प्रमुख अतिथी समेत रहेका पाण्डेले फोटोग्राफीकाे इतिहास र समाजको ऐना रहेको र यसको व्यवसायिकतामा संघले सकारात्मक भूमिका खेलेको बताए ।
उक्त कार्यक्रममा बोल्दै नेपाल फोटोग्राफर महासंघका केन्द्रिय अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले फोटोग्राफरहरुको हकहित र सुरक्षाका लागि महासंघ स्थापना भएको बताउदै अझ सशक्तका साथ् फोटोग्राफी र फोटोग्राफरको संरक्षणका लागि व्यवसायिक रुपमा एकजुट हुनुपर्ने बताए ।
सो अवसरमा बोल्दै संघका अध्यक्ष दिनेश अर्यालले सबै फोटो स्टुडियो, फोटोग्राफी तथा भिडियोग्राफी पेशामा संलग्न पेशागत व्यक्तिहरु एकजुट भएमात्रै यसको व्यवसायिक प्रगती हुने बताए । अध्यक्ष अर्यालले आगामी दिनमा लुम्बिनी फोटोग्राफर संघमा आबद्धहरुको हकहित सुरक्षा र संरक्षणका निम्ति हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।
साधारण सभामा लुम्बिनी फोटोग्राफर संघका सस्थापक अध्यक्ष निलकन्ठ भट्टराई, बुटवल उपमहानगर पालिका वडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपाने, उपाध्यक्ष माधव प्रसाद पन्थ, महासंघका बरिष्ठ उपाध्यक्षहरु, लुम्बिनी फोटोग्राफर संघमा आबद्ध आजीवन सदस्य, पुराना तथा नयाँ फोटोग्राफर, केन्द्रिय सदस्य तथा जिल्ला जिल्ला बाट प्रतिनिधिको रुपमा आएका फोटोग्राफरहरुलैई सम्मान गरिएको थियो।
बुटवल शुख्खानगर स्थित मेरिगाेल्ड हाेटलमा भएकाे कार्यक्रमकाे स्वागत मन्तव्य संघका बरिष्ठ उपाध्यक्ष राम प्रसाद भण्डारीले प्रदान गरेका थिए भने कार्यक्रमकाे सञ्चालन महासचिव त्रिभुवन पाण्डेले गरेका थिए ।