बुटवल । लुम्बिनीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएकोप्रहरीले जनाएको छ।
बसको ठक्करबाट मोटरसाइकलमा सवारहरुको मृत्यु भएपछि स्थानीयले स्कुलबसमा आगो लगाइदिएका छन्। आगोले बस पूर्ण रुपमा क्षति भएको छ।
त्यसैगरी उक्त दुर्घटनामा घाइते सोही ठाउकै १७ वर्षीया अप्सना खातुनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।
घटनापछि बस चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ।
स्थानीय वीरेन्द्र मिश्रका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका ४ अमारी गाउँका इरसार मुसलमानले आफ्ना बालबालिका मदरसा छोड्न जाने क्रममा शनिबार भ्रमणमा जाँदै गरेको सो स्कुल बसले ठक्कर दिएर यस्तो घटना भएको जानकारी दिए । उनका अनुसार अहिले सो क्षेत्रमा स्थानीले प्रदर्शन गरेका छन् भने स्थिति तनावग्रस्त भएको छ ।