देवदह // रुपन्देहीको देवदहमा सामाजिक काम गर्दै आईरहेको लायन्स क्लब अफ देवदह प्रोफेसनल युथले देवदह ७, मदनग्राम निवासी रुपा थापा खत्रीलाई आर्थिक सहयोग गरेको छ। सहयोग बापतको रकम नगद रु १२००० अपाङ्ग, असहाय र आर्थिक अवस्था कमजोर भएको खत्रीलाई देवदह नगरपालिकाको उप-प्रमुख विद्या लक्ष्मी गुरुङ, क्लबका अध्यक्ष दिपेश मल्लले हस्तान्तरण गर्नुभएको हो । खानेपानी जडान गर्नको लागि उक्त रकम सहयोग गरिएको क्लबले जानकारी गराएको थियो।
यश अघि आर्थिक अवस्था कमजोर रहेका खत्रीको विभिन्न संघसंस्था मिलेर २ कोठे घर निर्माण गरिदिएका थिए ।
सहयोगार्थ कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको देवदह नगरपालिकाको उप-प्रमुख विधा लक्ष्मी गुरुङज्युले आफ्नो धारणा राख्दै अपाङ्गता भएकाहरुको लागि नगरपालिका सदैव सेवा गर्न तत्पर रहेको जानकारी दिनु भएको थियो । त्यस्तै क्लबका अध्यक्ष दिपेश मल्लले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै अपाङ्गताको कारण कष्टपूर्ण जीवन बिताउन बाध्य भएकी रुपा खत्रीको जीवनमा थोरै भए पनि सहजता प्रदान गर्न खानेपानीको पाईप र मिटर जडान गर्ने उद्देश्य सहित सो रकम हस्तान्तरण गरिएको बताए ।
सहयोगार्थ कार्यक्रममा लायन्स जोन चेयरपर्सन गुमानसिंह कुवर, लायन्स क्लव अफ देवदहका अध्यक्ष विनोद थापा, प्रथम उपाध्यक्ष बिष्णु ज्ञवाली , कोषाध्यक्ष शिला मल्ल लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष दिपेश मल्लको अध्यक्षता र क्लबका सचिव नविन थापाको संचालनमा भएको थियो।