बुटवल । रुपन्देही उद्योग संघमा उर्जाको खपत र अनुदान सहयोग सम्बन्धि अन्तरक्रिया सम्पन्न भएकाे छ ।
उर्जाको समुचित प्रयोग गरी अनावश्यक खर्च घटाउन र उत्पादकत्व अभिबृद्धी गरी प्रतिस्पर्र्दी बजारमा उद्योगका उत्पादनको विक्रि वितरण बढाउने सन्दर्भमा रुपन्देहीका उद्योगीहरु र विषय विज्ञ एवं जिआइजेड र युरोपियन युनियनका प्रतिनिधिहरु विच बुधबार बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
रुपन्देही उद्योग संघको आयोजनामा संघकै सभाहलमा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष दिलिप सापकोटाज्यूले स्वागत मन्तव्य राख्नुहुँदै उद्योगहरुको अपरिहार्य कच्चा पदार्थको रुपमा रहेको उर्जा लाई कसरी सही ढंगबाट प्रयोग गरी उत्पादन लागत घटाउन सकिन्छ र उर्जाको समुचित प्रयोगले उद्योगहरुमा के कस्तोे टेवा पुग्दछ भन्ने विषयमा जानकारी दिन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
उहाँले उर्जा खपतका निम्ति विभिन्न अन्तराष्ट्रिय दातृ निकाय र नेपाल सरकारको समन्वयमा राष्ट्रिय वाणिज्य बैंक मार्फत प्रदान गर्न लागिएको अनुदान लाई समुचित ढंंगबाट प्रयोग गरी लाभान्वित हुन समेत उद्योगीहरुसँग आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा रिप प्रोजेक्टका कम्पोनेन्ट म्यानेजर डा.सन्जय गोर्खालीले परियोजना र अनुदानको उद्देश्य सन्दर्भमा आफनो प्रस्तुतिकरण गर्नुभएको थियो भने उर्जा अडिटको महत्वको बारेमा समेत प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा जिआइजेडका उर्जा दक्षता सल्लाहकार सुदन कायस्थले सानो प्रयासबाट ठुलो मुल्यको उर्जा खपत के-कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा आफनो प्रस्तुति राख्नुहुदै उर्जा बचाउन सकिने उपायहरुलाई अधिकत्तम प्रयोग गरी उद्योगहरुको उत्पादन लागत कमगर्न समेत वहाले अनु्रोध गर्नुभएको थियो ।
कार्यक्रममा उर्जा खपत कम गर्न उद्योग ब्यवसायीहरुलाई प्रविधि परिर्वतन तथा मेशीनरी खरिदमा लगानि गर्नुपर्दा प्राप्त हुने अनुदान सन्दर्भमा राष्ट्रिय वाणिज्य बैंक उर्जा दक्षता ग्रान्टका कन्सल्टेन्ट राजिव मंगल जोशीले प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले उद्योगिहरुले अनुदान लिदै गर्दा अपनाउनुपर्ने प्रक्रियाहरुको सन्दर्भमा जानकारी गराउनुका साथैे उर्जा अनुदान लिनका लागि उर्जा अडिट अनिवार्य रहेको समेत बताउनुहुँदै सहयोग अनुदान लिने तर्फ उद्योगीहरु चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उपस्थित उद्योगीहरुले विभिन्न जिज्ञासाहरु राख्नुभएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष बाबुराम बोहोरा, निर्वतमान अध्यक्ष माधव प्रसाद पौडेल, संघका पदाधिकारी, कार्यसमिति सदस्य एवं उद्योगीहरको सहभागिता रहेको थियो ।
महासचिव हिरामणी भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।