राष्ट्रपतिद्धारा पन्ध्र बुँदे सन्देश सहित नागरिकता विधेयक संसदमा फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक १५ बुँदे सन्देश सहित प्रतिनिधिसभामा नै फिर्ता पठाउनुभएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्था सहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपति समक्ष पठाएको थियो । साउन १५ मा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिले उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाउनुभएको हो।

वहाँले नागरिकता विधेयक अपूरो रहेको र संविधानसँग बाझिएको भन्दै पुनर्विचार गर्न संघीय संसदमा पठाउनुभएको हो ।

के छ राष्ट्रपतिको सन्देश ?

राष्ट्रपतिका सञ्चार विज्ञ टिका ढकालका अनुसार राष्ट्रपतिको सन्देशमा ९ वटा विषय उठाइएको छ । राष्ट्रपतिको सन्देशमा केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको नागरिकता अध्यादेश किन स्वीकृत गर्नुपर्यो र अहिले नागरिकता विधेयक किन पुनर्विचार गर्न भनिएको हो भन्ने समेत खुलाइएको वहाँले बताउनुभयो ।

सञ्चार विज्ञ ढकालका अनुसार राष्ट्रपतिले उठाएको एउटा विषय हो, प्रादेशिक पहिचान ।

संविधानको धारा १० को उपधारा २ मा ‘नेपालमा प्रादेशिक पहिचाहनसहितको एकल संघीय नागरिकताको व्यवस्था गरिएको छ’ उल्लेख छ । तर नागरिकता विधेयकले यसलाई सम्बोधन नगरेको राष्ट्रपति भण्डारीको निष्कर्ष छ ।

२००९ साल देखिकै नागरिकता ऐन र त्यसमा भएका संशोधन प्रक्रियाबारे लामो चर्चा गरेकी राष्ट्रपतिले आफ्नो सन्देशमा २०५८ सालमा तत्कालीन सरकारले नागरिकता ऐनमा गर्न खोजिएको संशोधन (राजा वीरेन्द्रले) किन रोकेको थियो भन्ने पनि उल्लेख गर्नुभएको छ ।

पछिल्लो पटक ओली सरकारले ल्याएको अध्यादेश, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सबैलाई उल्लेख गर्दै वहाँले आफ्नो सन्देशमा सबैले नागरिकताको समस्यालाई दिगो रुपमा समान गर्न सकेन भन्ने निष्कर्ष सुनाउनुभएको छ । ‘अहिलेको विधेयकले पनि इतिहासदेखि छोडिएको प्रश्न र वर्तमान उठेका प्रश्नलाई सम्बोधन गर्न सकेको देखिएन । यसरी अपूरो कानुन बनाउन कति उपयुक्त हुन्छ ?,’ सन्देशबारे जानकारी दिँदै सञ्चार विज्ञ ढकाल भन्नुहुन्छ, ‘संसदसँग त समय छ । अलिकति अध्ययन अनुसन्धान गरेर नागरिकताबारे हाम्रा समस्या के हुन् भन्ने छलफल गरेर कमसेकम आजसम्मका समस्यालाई सम्बोधन गर्ने गरी त बनाइदिनुपर्‍यो भन्नुभएको छ ।’

ढकालका अनुसार राष्ट्रपतिले वैवाहिक अंगीकृत नागरिकताको ७ वर्षे प्रावधानबारे पनि बोल्नुभएको छ । ‘प्रावधान के गर्ने ? के नगर्ने ? संसदको जिम्मा हो, राष्ट्रपतिको चासो होइन । तर जुन विषय संसदमा त्यत्रो समयसम्म छलफल भयो, त्यो फिर्ता लिँदा त्यसको कारण जनतालाई भनिदिनुपर्छ । त्यसो भयो भने विवाद हुँदैन र अहिले उठेका प्रश्नहरु पनि हल हुन्छ,’ ढकाल भन्नुहुन्छ ।

१५ बुँदे सन्देशमा राष्ट्रपति भण्डारीले आमाको नामबाट नागरिकता लिँदा बाबुको पहिचान नभएको स्वघोषणा गर्नुपर्ने व्यवस्थामा चासो र चिन्ता व्यक्त गर्नुभएको छ ।

स्वघोषणाको प्रावधान बालबालिकाको मौलिक हकसम्बन्धी धारा ३९, महिलाको प्रजजन तथा मातृत्वको अधिकारसम्बन्धी धारा ३८ का साथै गोपनियताको हकसम्बन्धी धारा २८, सम्मानपूर्वक बाँच्न पाउने हकम्बन्धी धारा १६ सँग मिल्दो भए नभएको हेर्नुपर्ने राष्ट्रपतिले बताउनुभएको छ ।

स्वघोषणाको व्यवस्थाले आमाले प्रजननसम्बन्धी गोपनियता खोल्नुपर्ने अवस्था आएको राष्ट्रपतिको बुझाइ छ । ‘यो व्यवस्थाले हामीले गरेको सम्पूर्ण संघर्ष निस्फल हुने त होइन ? हामी केलाई संस्थागत गर्दैछौं ? यो विषयमा किन हामीले गम्भीर रुपमा छलफल नगर्ने ?’ राष्ट्रपतिको सन्देशबारे जानकारी दिँदै सञ्चार विज्ञ ढकालले भन्नुभयो, ‘महिलाको आत्मसम्मान र निजी जीवनको गोपनियता समेत नरहने विषय गम्भीर छ, यसलाई सच्याएर मात्र ऐन बनाउनुपर्छ भन्ने उहाँको सन्देश छ ।’

नागरिकताको प्रमाणपत्र पाउन योग्य नागरिकतालाई नागरिकता दिन ढिला गर्न उपयुक्त नहुने भएकाले आफूले उठाएका सन्देशबारे तत्काल छलफल गरी प्रमाणीकरणका लागि पेश गर्न भनिएको राष्ट्रपतिका सञ्चार विज्ञ ढकालले बताउनुभयो।

सम्बन्धित खवर

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या