बुटवल, फागुन २७ । नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज रुपन्देहीको सातौं जिल्ला अधिवेशनबाट दिपेन्द्र बिश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश कार्यालय बुटवलमा शुक्रबार सम्पन्न भएको जिल्ला अधिवेशनले उपाध्यक्षमा हरिबहादुर बिश्वकर्मा, सचिवमा हेमबहादुर बिश्वकर्मा, सहसचिवमा शोभा बि.क. र कोषाध्यक्षमा शिवनन्दन हरिजन निर्विरोध रुपमा चयन गरेको हो । अधिवेशनले पदाधिकारी सहित ५१ सदस्यीय जिल्ला कमिटी निर्विरोध रुपमा चयन गरेको नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य तथा मुक्ती समाज सहइन्चार्ज सुरेन्द्र श्रीले बताउनुभएको थियो ।
अधिवेशनको खुल्लासत्रमा प्रमुख अतिथि समेत रहनुभएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य एंव लुम्बिनीका पूर्वमन्त्री लिला गिरीले सामाजिक रुपमा बर्षोदेखि विभेदमा रहेको दलित समुदायको पक्षमा नेकपा एमालेले काम गरिरहेको बताउनुभएको थियो । एमाले निकटको नेपाल उत्पीडित जातीय मुक्ति समाज रुपन्देहीको शुक्रबार बुटवलमा भएको सातौं सम्मेलनको उद्घाटन समरोहलाई सम्बोधन गर्दै गिरीले दलित समुदायमाथि भएको विभेद अन्त्य हुँदै गएको बताउनुभएको थियो । वहाँले सामाजिक रुपमा पछाडि पारिएका वर्ग क्षेत्रका लागि एमालेले काम गर्ने बताउनुभयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एंव नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय इन्चार्ज बमबहादुर विश्वकर्माले दलित समुदायलाई भोट बैंकका रुपमा मात्रै प्रयोग गरिएकाले अब पार्टीले त्यस्तो गरे मान्य नहुने बताउनुभएको थियो।
कार्यक्रमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनीका सांसद भूमिश्वर ढकालले कम्यूनिष्ट पार्टीको निर्माणमा मुक्ति समाजको उल्लेखनीय भूमिका रहेकाले अब आउने चुनावमा पार्टीले समावेशितालाई ख्याल गर्ने बताउनुभएको थियो। नेकपा एमालेका अर्का नेता एकराज विश्वकर्माले राजीनितक रुपमा प्रदान गरिएको अधिकार समेत खोस्ने भय भएकाले पार्टी नेतृत्व सजग हुनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, पूर्व राजदूत डा. निर्मला विश्वकर्मा, प्रदेशसभा सदस्य कमलादेवी विश्वकर्मा, मुक्ति समाजका केन्द्रीय सदस्य तेजप्रसाद विश्वकर्मा, समाजका लुम्बिनी प्रदेश संयोजक नन्द विश्वकर्मा, मुक्ति समाज रुपन्देहीका इन्चार्ज सुरेन्द्र श्री, मुक्ति समाज रुपन्देही अध्यक्ष जुद्धबहादुर विश्वकर्माले बोल्दै सामाजिक न्यायका मुद्धालाई प्राथमिकतामा राख्न नेताहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।