रुपन्देही // रुपन्देहीको देवदह ४ मा अवस्थित श्री महामाया भवानी मा.विले फागुन १८ गते स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालय स्थापनाको ५० औं वर्ष पूरा भएको अवसरमा विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव मनाउने भएको हो ।
स्वर्ण महोत्सवलाई लक्षित गर्दै विद्यालयमा शनिबार आयोजित भेलाले मूल आयोजक समिति गठन गरेको छ। भेलाले विद्यालय व्यबस्थापन समितिका अध्यक्ष छबिलाल घर्ती जिसीको संयोजकत्वमा १५१ सदस्यीय मुल समारोह समिति गठन गरेको हो।
कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मीले प्राविधिक शिक्षा र गुणस्तरीय शिक्षामा जोड नदिएसम्म राष्ट्रिय आवश्यकता पूरा गर्ने जनशक्ति उत्पादन हुन नसक्ने बताउनुभयो । उहाले शिक्षक, कर्मचारी, समाजसेवी, शिक्षा प्रेमी व्यक्तित्वहरु सबै मिलेर भव्य र सभ्य रुपमा विद्यालयको स्वर्ण महोत्सव सम्पन्न गर्न लाग्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक ऋषिश्वर अर्यालले वि.स. २०२७ सालमा स्थापित विद्यालयले २०७७ सालमै ५० औं वर्ष पूरा गरेतापनि विश्वव्यापी कोरोना महामारीका कारणबाट स्वर्ण महोत्सव मनाउन नसकिएको बताउनुभयो । उहाले महोत्सवमा विद्यालयलाई वर्तमान अवस्थासम्म ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्णको योगदानलाई स्मरण गर्दै, विद्यालयको ऐतिहासिक क्रमसमेतलाई समेटेर स्वर्ण स्मारिका प्रकाशन गर्ने, स्वर्ण स्तम्भ स्थापना गर्ने, सरस्वतको मन्दिर स्थापना गर्ने, मञ्च निर्माण गर्ने विभिन्न रचनात्मक र सिर्जनशील कार्यक्रमहरु आयोजना गरिने बताउनुभयो ।
कार्यक्रममा देवदह नगरपालिका वडा नं २ का वडा अध्यक्ष दल बहादुर राकसकोटी, नगर कार्यपालिका सदस्य शान्ता भट्टराई, विद्यालयका पुर्व प्रधानाध्यापक दिननाथ अर्याल, भविष्य निर्माण मा.विका विद्यालय व्यवस्थापन समिति अध्यक्ष झविनद्र प्रसाद पाण्डे, समाजसेवी प्रमोद खनाल, मोतिलाल ढकाल, यम प्रसाद लुइँटेल, लक्षु न्यौपाने, घनश्याम भण्डारी, छबि भट्टराई, मणि प्रसाद शर्मा, होम प्रसाद भुसाल, शक्ति प्रशन्न गिरी लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष छबिलाल घर्ति जिसीको अध्यक्षता, शिक्षक निलराज बस्यालको स्वागत र शिक्षक काशिराम पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो।