आज कुशे औशी तथा बुवाको मुख हेर्ने दिन । कुशे औंसीलाई बुवाको मुख हेर्ने दिन (औंसी) पनि भनिन्छ । आमाको मुख हेर्ने दिनमा आमाको संझना गरियो, गुरु पूर्णिमामा गुरुको संझना गरियो भने आजको दिन पिताको सम्मान, संझना अनि विशेष समर्पण गर्ने दिन । संसारमा हरेक बिहान विस्तारै गएर एउटा साँझमा रुपान्तरित हुन्छ, उदाएका सूर्य अस्ताउँने रित छ र यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुवा त कहिले छोरा, कहिले आमा त कहिले छोरीको भुमिका निर्वाह गर्ने क्रम चलिरहन्छ ।
चाहे जुनसुकै धर्म या सम्प्रदायका भएपनि बुवाको हात समातेर तोती बोली बोल्दै लरवरिएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौं र त्यसरी ताते ताते गरेर हिंड्न सिकाउने, हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुवा । शायद शब्दले ब्याख्या गर्न सकिन्न, तिनै बुवाहरुको बुढेसकालको बलियो लाठी बन्नलाई हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौं होला ! जे होस आमा बुवा नै यस जगतका देख्न सकिने भगवानहरु हुन । आजका दिन पृथ्वीलोकका सम्पूर्ण पिताहरुलाई स्मृती गर्दै कोटी कोटी नमन गरौँ ।
“यी छोराछोरी बढ्लान, कमाई गर्लान, दूधभात देलान मलाई’’ भनेर हरेक आमाबावुले आफ्ना छोराछोरीसँग अपेक्षा राखेका हुन्छन, सानामा आफूले थाङ्गना धोएर, को खाई को खाई गरेर खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरुले पछि हुर्किएर आफूलाई दूधभात अर्थात् मिठो पोषिलो खानेकुरा देलान, माया गरेर राख्लान भन्ने आशा हुन्छ । एउटा सामान्य मानव जीवन आधा राम्रो छोराछोरी बन्ने उत्कृट चाहना र आधा राम्रो बुवा–आमा बन्ने अभ्यास मैं बित्छ, कर्तब्यको यो जीवन स्वरुपमा बुवा–आमाको महत्व धेरै हुन्छ । एउटा बच्चाले सफा र फोहोर जान्दैन, लगाएको लूगा मै पनि दिशा पिशाब गरिदिन्छ र ति सबै फोहोरहरुलाई सफा गर्दै बुवा–आमाले छोराछोरीहरुलाई नुहाई धुवाई पुनः सफा कपडा लगाइदिन्छन् र त्यसरी हुर्केको बच्चाले भविष्यमा ठूलो भएर आफ्ना बुवाआमाको ख्याल राख्दछ, माया दिन्छ अनि सम्मान पनि । हाम्रो संस्कारले हाम्रो जिम्मेवारीलाई एकदमै सहज र सरल तरिकाले ब्याख्या गरिदिएको छ । हाम्रो मातापिता प्रतिको जिम्मेवारी हामीले वहाँहरूको हामीप्रतिको लगाव र प्रेमले झन प्रगाढ बनाउँदछ ।
कुशै औंशीका दिन पिताको भौतिक उपस्थिति हुने छोराछोरीले वहाको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्दछन भने भौतिक रूपमा अस्त भइसकेका पिताहरुलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न शक्तिपीठ, देवालय पवित्र तिर्थस्थल पुगेर स्थान गरी पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी अध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्दछन् ।
हरेक धर्ममा आ–आफ्नै चलन छ तर चलन जेसुकै भएपनि बुवाप्रतिको आदर, सत्कार र सामिप्यताको गुणगान हरेक आयामबाट यस जगतका सम्पूर्ण धर्म, सम्प्रदाय र कोटीले गरेकै छ । हामी आफ्ना बुवाआमाका भौतिक, भावनात्मक, जैविक अनि सपनाका अंशहरुका शिवाय अरु केही पनि हैनौं, हामीमा बगेको रगत, अडेको संस्कार र गढेका सपनाहरु हाम्रा मातापिताबाट धेरै नै नजिक हुन्छ, ति सपना र सम्भावनाका प्रदायक, जीवन श्रृष्टिकर्ता चराचर जगतका सम्पूर्ण आदर्श बुवाहरुलाई स्मृमरण गर्दछौं ।
बढ्दो आधुनिकतासंगै बुवा आमाहरुलाई बृद्धाश्रममा राख्ने, समय र श्रोतका अभावमा हेला गर्ने अनि झर्को फर्को मान्ने चलनहरु बढेर गइरहेको छ । तर बुवालाई हेला गर्ने र चित्त नपुर्याउने कर्म जगतलाई पक्कै मान्य छैन, हामी पनि एकदिन वूवा या आमा हुन्छौं तसर्थ हामीले जे गर्छाैं त्यही नै आफ्ना भावी सन्ततीबाट पछि प्राप्त गर्दछौं । आउँदा पुस्ताहरुमा पनि पितृमोहका भावना अझ प्रगाढ पार्न आजका पुस्ताले पितृप्रतिको दायित्व पुरा गर्नुपर्ने महत्व र आवश्यक्ता झन बढ्दै गएको छ ।
बुवाको माया गर्न धर्मले पक्कै बाँधेको छैन्, समयले छेकेको छैन् अनि भूगोलले स्नेह र सम्झनालाई कैद गर्न सक्दैन, हिउँको कठ्यांग्रीदो चिसो ठन्डीमा हुनुहुन्छ, हावा हुरि बतासमा हुनुहुन्छ, मरुभुमीको गर्मीमा हुनुहुन्छ, समुन्द्र तटमा हुनुहुन्छ या नेपालमै अवसरहरुसँग पैंठेजोरी खेल्दैहुनुहुन्छ, जन्म दिने बुवालाई एकफेर खुशीसाथ स्मरण गरौं, वहाँलाई आफूले माया गरेको कुरा आफ्ना अनन्यहरूलाई जानकारी दिउँ र एकफेर वाल्यकालका यादहरु सम्झेर मुस्काऔं न, हुँदैन र ?
सामाजिकिकरण, सभ्यता र संस्कारको यो चक्रमा मान्छे कहिले अभिभावक हुन्छ, असल छोराछोरी र असल बुवाआमा बन्न सकौं, सबैलाई शुभेच्छा ।