सुरज भट्टराई ,बुटवल । रूपन्देहीको बुटवलमा पायोनियर्स एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. सञ्चालनमा आएको छ । पशु चिकित्सा क्षेत्र व्यवसाय गर्ने र अनुसन्धान समेत गर्ने गरी तीन जना युवा मिलेर पायोनियर्स एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टर सञ्लचानमा ल्याएका हुन् । तीन पशु चिकित्सकहरू डा. सन्दिप भट्टराई, डा.पदम टन्डन र डा.अभिनास क्षेत्रीको संयुक्त लगानीमा उक्त हस्पिटल सञ्चालनमा आएको हो ।

बुटवललाई केन्द्र विन्दुमा राखी आसपासका क्षेत्रहरुका मानिसले पाल्ने हरेक खालका घरपालुवा तथा व्यवसायिक पशुपन्छी, फार्मका पशुहरुको उपचार रोग निदान, परामर्श र हरेक किसिमका समस्याहरुको सामाधान एकै ठाउँमा सुलभ तवरले प्रदान गर्ने उद्देश्यका साथ एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टर सञ्चालनमा ल्याईएको एनिमल हस्पिटलका निर्देशक डा.अभिनास क्षेत्रीले जानकारी दिए । उक्त अस्पतालमा तत्कालका लागि २५ लाख लगानी गरिएको क्षेत्रीले बताएका छन् ।
व्याचलर अफ भेटनरी साईन्स एण्ड एनिमल हजबेन्ड्रिबाट स्नातक गरिसकेका लाईसन्स प्राप्त भेटरियन डाक्टरहरू मिलेर युवाहरुले पनि केही गर्न सक्छन भनी देखाउन र आम युवाहरुलाई स्वदेशमै मेहनत गर्न उदाहरणीय काम गरेर देखाउने उद्देश्यले पायोनियर्स एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि सुरु गरेका हुन ।
केवल पैसा कमाउने उद्देश्य भन्दा पनि आफ्नो ज्ञान सीपको प्रयोग गर्दै आफ्नै माटोमा योगदान गर्ने भावनाका साथ व्यवसायमा प्रवेश गरेको हस्पिटलका सञ्चालक डा.सन्दिप भट्टराई बताएका छन् । एनिमल हस्पिटलमा विशेषज्ञ डाक्टरबाट २४ सै घण्टा सेवा, अत्याधुनिक प्रयोगशाला, फार्मेसी सेवा, डिजिटल एक्स(रे सेवा, इमरजेन्सी सेवा, घरपालुवा जनावरहरुको रोग निदान तथा सम्पुर्ण किसिमका उपचार र सबै खाले शल्यक्रिया परामर्श सेवा उपलब्ध हुने सञ्चालक भट्टराईले बताए ।
ठुला पशुहरुको अन फार्म सेवाहरु, बाझोपनको उपचार, थुनिलो लगायत अन्य जटिल रोगहरुको निदान तथा उपचार, फार्मको रेकर्ड राख्ने, आहार व्यवस्थापन, नयाँ फार्म बनाउन परामर्श तथा शल्यक्रियाहरु र कुखुरा, हाँस तथा अन्य पशुपंक्षीहरुको उपचार सेवा पनि उपलब्ध रहेको समेत भट्टराईले बताए ।
एनिमल हस्पिटल सुरु भएसंगै पशुपालक किसानलाई पशुहरुलाई लागेको रोग पत्ता नलागेर मर्नुपर्ने बाध्यता हट्ने संचालक डा. पदम टन्डनले बताए । किसानले पालेका पशुपंक्षी तथा शहरका घर घरमा पालिने घरपालुवा जनावर बिरामी भए अव बाहिर लैजान नपर्ने गरी अत्याधुनिक प्रयोगशाला र उपचार सहितको सेवा सुविधा दिइने कुरा डाक्टर टण्डनले बताएका छन् ।
बुटवल ८ सुखानगर स्थित सो हस्पिटल असार ३० गतेबाट संञचालनमा ल्याइएको छ ।