दवदह // बालबालिकालाई समय सापेक्ष ज्ञान दिने शिक्षकहरु स्वयम् पनि समय अनुसार नयाँ ज्ञान र प्रविधि सिक्दै जानु पर्ने निजी तथा आवासीय विद्यालय नेपाल (प्याब्सन) रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले बताउनुभयो ।
देवदह नगर प्याब्सन द्वारा आयोजना गरिएको एक दिने पूर्व प्राथमिक तहका शिक्षकहरुलाई प्रदान गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले उक्त कुरा बताउनु भएको हो । त्यसैगरी प्याब्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष तथा देवदह प्याब्सनका वरिष्ठ सल्लाहकार एक नारायण काफ्लेले स साना बालबालिकाहरुलाई गृहकार्यको भारी बोकाउनु भन्दा स्वतन्त्र वातावरणमा सिक्न सक्ने ज्ञानको आवश्यकता रहेको बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा विशिष्ठ अतिथि प्याब्सन रुपन्देहीका सह सचिव एवम् देवदह नगर प्याब्सनका प्रमुख सल्लाहकार बोधराज गौडेलले सिक्ने र सिकाउने प्रक्रिया जीवनभरि चलिरहने हुँदा सिक्न नसक्नेले सिकाउन पनि नसक्ने बताउनुभयो । उक्त कार्यक्रममा आठराई पब्लिकेशनका प्रदेश निर्देशक तथा नवलपरासी प्याब्सनका सदस्य गोपाल बस्याल, सल्लाहकार महेश पराजुली, ग्रीन प्लान्ट आवासीय मा.वि.का अध्यक्ष विष्णु पोख्रेल लगायतले तालिममा सिकेका कुरालाई कक्षामा लागु गर्नु पर्नेमा जोड दिनुभयो । प्याब्सन देवदहमा आवाद्ध १० वटा विद्यालयमा अध्यापनरत एक सय २० जना शिक्षकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा पाठ्यपुस्तकका लेखिका तथा प्रशिक्षक सानु अमात्यले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम देवदह नगर प्याब्सनका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षता सचिव कृष्ण प्रसाद गैरेको सञ्चालन र कोषाध्यक्ष टिकाराम चापागाईको स्वागतमा सम्पन्न भएको थियो ।