पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर ५ देखि सुरु भएको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) आइतबार सकिएको छ । थाइल्यान्डबाट आएको एरो थाई कम्पनीको विमानले एक साता क्यालिब्रेसन फ्लाइट गरेको हो । तीन सातापछि कम्पनीले प्रतिवेदन बुझाउनेछ । पूर्वघोषित मिति पुस १७ (जनवरी १) बाटै विमानस्थल सञ्चालनमा ल्याउने नागरिक उड्डयन प्राधिकरणको तयारी छ ।
विमानस्थलको पूर्वपट्टि रहेको रिट्ठेपानी डाँडा कटान भइरहेको छ । १६ मिटर डाँडा कटानपछि क्यालिब्रेसन फ्लाइट भएको हो । बाँकी २४ मिटर काट्न बाँकी छ । ठेकेदार कम्पनी उमा एन्ड गाल्भा जेभीले वैशाखसम्ममा डाँडा कटान गरिसक्नुपर्ने सम्झौता छ । क्यालिब्रेस फ्लाइटको प्रतिवेदन आएपछि उडान सञ्चालन गर्न कुनै बाधा नपुग्ने विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । ‘रिट्ठेपानी डाँडा अवरोधका रूपमा देखिएको थियो, १६ मिटर काटेपछि कम भएको छ,’ उनले भने, ‘एयरपोर्ट खुला गर्न अब यसले समस्या गर्दैन ।’
पोखरा महानगरपालिकाले ल्यान्डफिल साइटमा मंसिर १८ बाट फोहोर फाल्न बन्द गर्ने जानकारीसहितको पत्र विमानस्थल आयोजनालाई पठाइसकेको छ । हाल विमानस्थलबाट २ किमि टाढा रहेको ल्यान्डफिल साइट रिट्ठेपानी डाँडा कटानबाट निस्किएको माटोले पुर्ने काम भइरहेको छ । नयाँ ल्यान्डफिल साइटका लागि केही स्थानको पहिचान भएको महानगरपालिकाका प्रवक्ता मोतीप्रसाद तिमिल्सिनाले बताए । महानगर प्रमुख धनराज आचार्यसहितको टोली फोहोर व्यवस्थापनबारे अध्ययन गर्न भारतको हैदरावाद पुगेको छ । विमानस्थललाई आवश्यक फ्युल स्टेसनको संरचना बनाउन माटो परीक्षणको काम पनि भइरहेको छ । उक्त संरचना नबन्दासम्म हालको पोखरा विमानस्थलमा रहेको दुई वटा २७ हजार लिटर क्षमताका ट्यांकर प्रयोग गर्ने जनाइएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउनुपूर्व अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को एरोनटिकल इन्फर्मेसन पब्लिकेसनमा उक्त विमानस्थलबारे ४२ दिनअघि नै जानकारी समावेश गर्नुपर्छ । नागरिक उड्डयन प्राधिकरणले मंसिर १ मा आइकाओलाई विवरण जानकारी गराइसकेको छ ।
कुनै भवितव्य नआए पुस १७ बाट उडान सुरु गर्न कुनै समस्या नरहने प्राधिकरणका पोखरा कार्यालय प्रमुख विक्रम गौतमको भनाइ छ । क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन आएपछि प्राधिकरणले विमानस्थल खुला भएको जानकारी गराउँछ । आन्तरिक उडान त्यहीँबाट सञ्चालन गर्छ । अन्तर्राष्ट्रिय उडानका लागि एयरलाइन्स कम्पनीलाई आह्वान गर्छ । ‘पुरानो विमानस्थलको सम्पूर्ण व्यवस्थापन नयाँमा सारेर तोकिएकै मितिमा उडान सुरु गर्न हामी तम्तयार छौं,’ गौतमले भने, ‘अब यसलाई पूर्ण रूपमा सञ्चालन गरेर व्यवसाय बढाउन प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहन्छ ।’ विमानस्थलले लक्ष्य राखेको व्यवसाय गर्नेमा उनी आशावादी छन् । विमानस्थल सञ्चालनपछि पोखराको पर्यटनले नयाँ उचाइ लिने उनको विश्वास छ । विशेष गरी धार्मिक पर्यटनलाई विमानस्थलले थप प्रवर्द्धन गर्ने उनी बताउँछन् ।
नयाँ विमानस्थलका लागि १ सय ५० कर्मचारी आवश्यक पर्छन् । हालको विमानस्थलमा २८ कर्मचारी छन् । प्राधिकरणको केन्द्रीय कार्यालयले २३ प्राविधिक कर्मचारी पोखरा पठाइसकेको छ । अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा व्यवस्थालगायतका सम्पूर्ण तयारी एक महिनाभित्र पूरा हुने उनले बताए । विमानस्थल सञ्चालनमा आएपछि बिहानदेखि रातिसम्म उडान हुनेछ । यसअघि हालको विमानस्थलमा उडान र अवतरणका लागि ५ किमिसम्मको भिजिबिलिटी आवश्यक पर्नेमा नयाँ विमानस्थलमा भने ८ सय मिटर मात्रै देखिए पुग्छ । मौसम खराबीका कारण जहाज नचल्ने समस्या हट्छ ।
भारतका बनारस, दिल्ली र देहरादुनमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने बुद्ध एयरको तयारी छ । ‘नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरीदेखि सञ्चालनमा आउने जानकारी दिएको छ,’ कम्पनीले भनेको छ, ‘त्यहाँबाट हुने पहिलो उडानका रूपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान गर्नेछ ।’ पोखरा–बनारस–पोखराको उडान सातामा तीन दिन आइतबार, मंगलबार र बिहीबार हुने कम्पनीको भनाइ छ ।
एयर ट्राफिक रुटका लागि नेपाल सरकारले भारत सरकारसमक्ष पहल गरिरहेको भन्दै भारत सरकारबाट रुट र स्लट प्राप्त भएपछि पोखरा–दिल्ली–पोखरा रुटमा दैनिक दुई उडान गरिने कम्पनीले जनाएको छ । कम्पनीले पोखरा–देहरादुन–पोखरा रुटमा सातामा तीन वडा उडान गर्ने जनाएको छ ।