रुपन्देही । अबिरल बर्षाका कारण पुल भासिदा पुर्व पश्चिम राजमार्ग पुर्ण रुपमा अबरुद्व भएको छ।
बुटवल नारायणगढ सडक खण्ड अन्तर्गत देवदहको घोडाहामा पुल भासिएको हो।पुल भासिएसङ्गै बुटवल खैरेनी सडक खण्ड अबरुद्द भएको प्रहरी चौकी खैरेनीका इन्चार्ज गङ्गा बहादुर सारुले जानकारी दिनुभयो। बर्षा सङ्गै आएको बाढीका कारण देवदहका थुप्रै ठाउँ दुबानमा परेको र उद्दार कार्यमा लागिरहेको सारुले बताउनुभयो।
त्यस्तै, नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाएको छ ।
नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउदा अहिले राजमार्ग अबरुद्व छ । निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्णरूपमा क्षति पुगेकाले तत्काल मर्मत गरी सञ्चालन गर्न कठिन रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहले बताउनुभयो । यस्तै गैँडाकोट, थुम्सी, भेडाबारीलगायतका स्थानमा रहेका डाइभर्सनबाट समेत यातायात सञ्चालनमा कठिनाइ रहेको छ । उहाका अनुसार बाढीका कारण अन्य डाइभर्सनबाट समेत ‘ओभरफ्लो’ भएकाले सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ । राजमार्ग अन्तर्गतकै देवदह – सुनवल सडकखण्डको पुल चर्किएर गाडी हिड्न नमिल्ने स्थितिमा पुगेको प्रहरीले जनाएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेका ठाउँ–ठाउँमा पहिरो जादा राजमार्ग अवरुद्ध भएको छ । प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको भए पनि पहिरो तत्काल हटाउने अवस्था नरहेको जनाइएको छ । अविरल वर्षाका कारण नवलपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् । वर्षाका कारण हुप्सेकोट–४ मा एउटा घरमा पहिराले क्षति पु¥याएको छ । तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
अविरल वर्षका कारण कावासोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु, विनयी त्रिवेणी, हुप्सेकोटका विभिन्न स्थान डुबानमा परेका छन् । बाढी, पहिरो र डुबानका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको सूचना अधिकारी सिंहले बताए ।