पार्टी कब्जा गर्न नसकेपछि प्रचण्ड-माधव स-साना झुण्ड बोकेर कांग्रेसतिर लागे – विष्णु पौडेल 

बुटवल । नेकपा एमालेका उपमहासचिव तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडलले प्रचण्ड र माधव नेपालले शुरूमा नेकपा र त्यसपछि एमाले कब्जा गर्न असफल भएपछि कांग्रेसको पछि लागेको टिप्पणी गरेका छन् ।

बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेल माधव नेपालप्रति आक्रामकरूपमा प्रस्तुत भएका थिए । उनले नेकपा एसमा लागेकाहरूलाई माधव नेपालमार्फत कांग्रेसको सेवा गर्नुभन्दा सीधै कांग्रेसमा प्रवेश गर्न वा एमालेमा फर्किन सुझाव दिए ।

पौडेलले एमाले विभाजनको प्रयास असफल भएको भन्दै माधव नेपाल लगायतका केही स्वार्थी र महत्वाकांक्षी व्यक्तिहरू कांग्रेसतिर लागेको आरोप लगाए । उनले रुपन्देहीमा पार्टी विभाजनको पक्षमा कोही पनि नरहेको दावी गरे ।

तत्कालीन नेकपाका महासचिव पौडेलले प्रचण्ड-माधवले आफ्नो सरकार ढाल्न र पार्टी फुटाउन अध्यक्ष केपी ओली र आफूसहितलाई साधारण सदस्यबाट निष्कासन गरेको सम्झिदै कब्जा गर्न नसकेपछि कांग्रेसको पछि लाग्न तयार भएको बताए।

पौडेलले भने, ‘उनीहरू पार्टी फुटाएर सत्तामा जान खोजे । एमालेमा डेढ दशक मुख्य नेतृत्व गरेका र प्रधानमन्त्री भएका माधव नेपालले प्रचण्डको साथ लिएर पार्टी कब्जा गर्न खोजे । उनीहरु नसकेपछि आफैं बाहिरिएका छन्, यसले केही असर गर्दैन ।’

पौडेलले फागुन २३ को फैसलापछि पनि नेकपा एकता गरौं भन्दा प्रचण्ड तत्कालीन माओवादीका केही झुण्डलाई लिएर अलग भएको आरोपसमेत लगाए । उनले माओवादी आन्दोलनको मूलधार केपी अ‍ोली नेतृत्वकै पक्षमा रहेको र एमालेमै समाहित भएको बताए ।

एक्लै चुनाव लड्ने क्षमता प्रचण्ड माधव र कांग्रेसमा नरहेको भन्दै उनले सबै मिलेर बनेको गठबन्धनलाई परास्त गरिने र माधव नेपालको पार्टीले एक सिट जित्नु त परै जावस्, कुनै एक क्षेत्रमा जमानत पनि जोगाउन नसक्ने दावी गरे ।

पौडेलले एमाले जनताको विश्वास जितेर फेरि सत्तामा आउने उद्घोष पनि गरे । ‘प्रतिपक्षमा रहेको चिन्ता नगर्नुस् । छिट्टै चुनाव हुँदैछ । केही महिनाका लागि प्रतिपक्षमा छौं । जब निर्वाचन हुनेछ, तब एमालेले तागत, हैसियत देखाउनेछ र जनताको साथ विश्वास लिएर सरकारमा आउनेछ,’ उनले भने ।

जसरी पनि सत्तामा पुग्ने माओवादी आकांक्षाले पार्टी जीवनमा समस्या आएको र माधव नेपालको कारण पनि अहिले पार्टीमा समस्या आएको उनले आरोप लगाए । ‘प्रचण्डजीहरू कांग्रेसको पछाडि लाग्न तयार भए । कम्युनिस्ट एकताबद्ध राख्न तयार भएनन्,’ उनले भने, ‘एमालेभित्र माधव नेपाल प्रवृत्ति करिब डेढ दशक काम गरेको, प्रधानमन्त्री भएर काम गरे । नीति, सिद्धान्त, विधिमा मत छैन । खाली महत्वाकांक्षाले प्रहार गरे ।’ प्रचण्डसँग मिलेर माधवले पार्टी कब्जाको प्रयास गरेको उनको आरोप थियो ।

‘एमालेका केही स्वार्थी तत्वलाई साथमा लिएर एमाले कब्जा गर्ने नसकेपछि स्वार्थी समूहलाई निकालेर एमाले कमजोर बनाउने प्रयास गरियो,’ उनले भने, ‘माओवादी निस्किए पनि एमाले एकताबद्ध बनाएर सरकार चलाउने अवसर थियो । तर एमालेकै सांसदले विश्वासको मत दिएनन् । एमालेको सरकार गिर्ने अवस्था बन्यो । यो तहको अनुशासनहीनता एमालेमात्र होइन, कुनै पार्टीमा सैह्य छैन ।’

रुपन्देहीबाटै निर्वाचित नेता पौडेलले अघिल्लो स्थानीय चुनावमा कांग्रेस र माआवादी मिलेर लड्दा पनि एमालेले जितेको भन्दै आउने चुनावमा ५ वटै निर्वाचन क्षेत्र र १६ वटा स्थानीय तहमा जिताउनेगरि लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

मन्त्रिपरिषद् विस्तार गर्न नसक्नेले के गर्लान् ?

पौडेलले एमाले सरकारको विकल्पमा अनेक गठजोडमा बनेको टालाटुली सरकारले दुई महिनासम्म मन्त्रिपरिषद पूर्णता नदिएर अक्षम प्रमाणित गरेको बताए । ‘सरकारले कस्तो नालायिकी देखाइरहेको छ भने हामीले प्रस्तुत गरेको आमजनताले समर्थन सामाजिक जीवनका मान्छेले स्वागत गरेको बजेटलाई विस्थापन गर्ने, गाउँगाउँमा विकासमा परियोजना रद्द गरेर देश बजेटविहीन बनाउँदै,’ उनले भने, ‘खर्च गर्न नपाउने स्थिति बन्दैछ । सरकारले एमालेका कारण बजेट आएन भन्ने देखाउने प्रयत्न गर्दैछ । त्यो कुरा नसोचे हुन्छ । जनता लाटा छैनन् । यो सरकार जनता र राष्ट्रको पक्षमा छैन । आँट भरोसा छैन । एमालेबाहेक देशलाई अगाडि बढाउन सक्दैन ।’

 

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना