देवदह । देवदह ५ मा अवस्थित देवदह नगर अस्पतालमा एक्सरे सेवा सुचारू भएको छ । देवदह नगरपालिकाद्वारा संचालित नगर अस्पतालमा शनिबारदेखि एक्सरे सेवा सुरु भएको हो ।
एक्सरे सेवाको शुभारम्भ गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले नगर अस्पताल संचालनमा आएपछि देवदह नगरपालिकाका स्थानीयलाई स्वास्थ्य उपचार सेवामा सहज भएको बताउनुभयो ।
नगर प्रमुख खरेलले देवदह नगर अस्पतालबाट स्वास्थ्य बिमाको सेवा समेत सूचारु गरिएको र अन्य सेवा सुबिधाहरु समेत वृद्धि गर्दै लैजाने बताउनुभयो । देवदह नगर अस्पताललाई स्वास्थ्य क्षत्रको रुपमा अब्बल बनाउने गरि लागिरहेको समेत नगर प्रमुख खरेलको भनाई थियो ।
नगर अस्पतालमा भिडियो एक्सरे सेवा पहिलादेखिनै सुचारु भएको र एक्सरे सेवाको लागि २४ सै घण्टा कर्मचारीको व्यवस्था गरिएको देवदह नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संज्ञा सेनले जानकारी दिनुभयो ।
एक्सरे सेवा शुभारम्भ कार्यक्रममा उपप्रमुख विद्या लक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, प्रबक्ता गणेश डुम्रे, वडा नम्बर ८ का अध्यक्ष हरि पाण्डे, ११ का अध्यक्ष दुधनाथ यादव, स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडे लगायतको उपस्थिति रहेको थियो ।