देवदहमा विपश्यना ध्यान केन्द्र निर्माण शुरु

बुटवल । रुपन्देहीको देवदहमा विपश्यना सेन्टर निर्माण थालिएको छ । देवदह विपश्यना केन्द्र (धम्मगाम) ले सेन्टर निर्माण थालेको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले विपश्यना केन्द्र निर्माणका लागि जमिन प्रदान गरेको स्थानमा पूर्वाधार निर्माण शुरु गरिएको हो । यसलाई अन्तर्राष्ट्रिय विपश्यना ध्यान केन्द्रसहित रिसर्च सेन्टर बनाउने दीर्घकालिन योजना रहेको छ ।

विपश्यना केन्द्रका शिक्षक गोपाल पोखरेलले दुई चरणमा गरी विपश्यना केन्द्रको निर्माण गरिने बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा प्राप्त भएको ५ विगाहा जमिनमा पूर्वाधार निर्माण गर्न थालिएको र एक वर्षभित्र मै केन्द्र सञ्चालनमा आउने उनले बताए ।

धम्मगामभित्र पहिलो चरणमा एक सय साधकसाधिकाले ध्यान गर्न सक्ने हल, ५० पुरुष र ५० महिलाको बासस्थान, भोजन कक्ष, गुरु आवास निर्माण गरिने पोखरेलले बताए । दोस्रो चरणमा दुई सय जना अट्ने ठूलो ध्यान कक्ष, ५०/५० जना क्षमताका दुई ध्यान कक्ष, विपश्यना अनुसन्धान केन्द्र निर्माण गरिनेछ । पहिलो चरणमा २ करोडभन्दा बढी लागतमा पूर्वाधार निर्माण हुने पोखरेलले बताए ।

गौतमबुद्धले देवदह सुत्त देशना गरेको स्थानमा विपश्यना केन्द्र निर्माण गर्न लागिएको हो । यो निर्माणमा साधकसाधिकाहरुको दान सहयोग रहेको छ ।

बर्माबाट आएका साधकसाधिका, भिक्षु भिक्षुणी तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यसहितको सहभागितामा परित्राण पाठ गरी भूमि पुजन गरिएको थियो ।

विश्वविद्यालयका रजिष्ट्रार आचार्यले देवदहमा रहेको जग्गाको गुरुयोजना अनुरुप ध्यान केन्द्र निर्माणका लागि सहकार्य गरिएको बताए । विश्वविद्यालयले सोही स्थानमा योगिक साइन्स विषय शुरु गर्ने निर्णय गरेको उनले बताए । अहिले देवदहमा विश्वविद्यालयले डिन कार्यालय निर्माण गरिरहेको छ ।
देवदह विपश्यना सेन्टरले दोस्रो पटक ध्यानमा आउने साधकसाधिकाहरुले प्रदान गरेको दान रकमबाट विपश्यना सेन्टर निर्माण हुने जनाएको छ । पहिलो पटक ध्यानका लागि आउने साधक साधिकाको दान भने पूर्वाधार निर्माणमा प्रयोग नहुने केन्द्र शिक्षक पोखरेलले बताए । विपश्यना केन्द्रहरुमा एक जना केन्द्र शिक्षक रहने गर्दछन् ।

यस क्षेत्रमा लुम्बिनीमा मात्रै विपश्यना ध्यान केन्द्र रहेको छ । देवदहलाई बौद्ध विश्वविद्यालयको सहकार्यमा विपश्यना रिसर्च सेन्टरका रुपमा विकास गर्ने योजना रहेको पोखरेलले बताए ।

सम्बन्धित खवर

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास