फोहोर व्यवस्थापन : जिम्मेवार को ? विषयक बहस कार्यक्रममा बोल्दै नगरप्रमुख ध्रुबप्रसाद खरेलले नगरबासीको सर्बोत्तम हितलाई ख्याल गर्दै नगरपालिकाले फोहोर व्यवस्थापनलाई प्राथमिकता दिने बताए । बुद्ध सामुदायिक वन क्षेत्रमा व्यवस्थापन हुँदै आएको फोहोर वर्गीकरण गरि स्थानीयलाई कुनै प्रकारको हानी नहुने गरी काम गर्ने आफूहरु प्रतिबद्ध रहेको उनले बताए ।
प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले घरबाटै फोहोर वर्गीकरण गरी शेष फोहोर मात्रै डम्पिङ्ग साइटमा पुर्याउन सके समस्या हल हुने बताए । “अन्य पालिकामा पनि त्यो अभ्यास, हामीले पनि फोहोर वर्गीकरण अभियान संचालन गर्ने र घरघरमै पुगेर सचेतना फैलाउने कार्य गर्नुपर्ने छ ।” उनले भने, “फोहोरलाई मोहोर बनाउन समुदायको सहभागिता अपरिहार्य छ ।”
कार्यक्रमा बोल्दै बुद्ध सामुदायिक वनका अध्यक्ष टेक बहादुर रानाले नगरपालिकाले फोहोर व्यवस्थापनलाई वेवास्ता गरेकै कारण आफूहरू आन्दोलन गर्न बाध्य भएको बताए । संरचना बनाउन ध्यान नदिने, लगानी नगर्ने अनि १२ वटै वटाको फोहोर बुद्ध वनमा ल्याएर विसर्न गर्ने कार्य स्थानीयलाई सह्य हुन नसक्ने तर नगरपालिकाले प्राथमिकतामा राखेर काम गरे आफूहरू सहयोग गर्न तयार रहेको उनले बताए ।
देवदह खानेपानीका अध्यक्ष गुमानसिङ् कुँवरले खानेपानीको मुहानदेखि धारासम्मको सरसफाइमा आफूहरू जोडिने बताए । आफूहरूलाई काम गराए सबै खानेपानी संस्था काम गर्न तयार रहेको उनको भनाई छ ।
छलफलको प्यानलमा नागरिक समाज देवदहका अध्यक्ष जयकिशन अधिकारी, सहकारीकर्मी प्रमोद खनाल, उद्योग वाणिज्य संघ देवदहका अध्यक्ष हरी भण्डारी, देवदह नगर अस्पतालका प्रमुख संज्ञा सेन लगायतले विचार व्यक्त गरेका थिए ।
७० जना स्थानीय संघसंस्थाका प्रतिनिधि सहभागीता रहेको कार्यक्रमको सहजीकरण सेतोमसीका कार्यकारी सम्पादक पवन पौडेलले गरेका थिए ।