देवदह // रुपन्देहीको देवदहमा पशुमा देखिने बाँझोपन रोग निवारण सम्बन्धी गोठ देखि गोठ शिविर सुरु गरिएको छ । देवदह नगरपालिकाको पशु विकास शाखाको आयोजनामा वडा नं ११ स्थित सुभारम्भ एग्रो फार्मबाट उक्त शिविर सुरु गरिएको हो । शिविरको एक कार्यक्रमका बिच देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले शुभारम्भ गर्नुभएको हो।
शिविरको शुभारम्भ गर्दै उप प्रमुख गुरुङले यो शिविर कृषकहरुको लागि अत्यन्त खुशीको कुरा रहेको बताउनुभयो । कृषकहरुले पालेका भैँसी, बाख्रा लगायत अन्य पशु चौपायामा रहेको बाँझोपनबाट अब छुटकारामा मिल्ने विश्वास ब्यक्त गर्नुभयो । उहाले देवदह नगरपालिकाले पशुपालन कृषकलाई ५०% पशु विमामा अनुदान अगाडी बढाएको सो अवसरमा बताउनुभयो। उहाले कृषि र पशुपालनबाट आर्थिक वृद्धि गर्न सकिने कुरामा जोड दिनुभयो ।
सोहि अवसरमा बोल्दै पशु विज्ञ डाक्टर लक्ष्मण प्रसाद घिमिरेले पशुमा बाँझोपनको समस्या बढिरहेको बेला यस्ता सेवाले टेवा पुग्ने बताउनुभयो। उहाले गोठ-गोठ कार्यक्रमले बाँझोपनको समस्या संगै अन्य समस्याको पनि समाधान हुने बताउनुभयो।
कार्यक्रम देवदह नगरपालिका वडा नं ११ का अध्यक्ष दुधनाथ यादवको अध्यक्षता र पशु विकास शाखाका अधिकृत प्रवीण गौडेलको सञ्चालनमा सम्पन्न भएको थियो। सो अभियान एक हप्ता सम्म सञ्चालन हुने देवदह नगरपालिकाका पशु शाखा प्रमुख हर्क दानीले बताउनुभयो।