राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको हो ।
डा. कार्की लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । उनी मेडिकल काउन्सिलको निर्वाचित सदस्य हुन् ।
तर, नियमित तलब भत्ता नलिने भएको कारण उक्त पद लाभको पद नरहेको दाबी गर्दै कार्कीले सोमबार सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेकी थिइन् ।
मंगलबार पेसीमा चढेको उक्त रिटमा न्यायाधीश चुडालको इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ । सर्वोच्चको आदेशसँगै तत्कालका लागि कार्कीको उम्मेदवारी कायम भएको छ । अब दुई न्यायाधीश रहने संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुनेछ । विपक्षीले उम्मेदवारी कायम नरहने तथ्य र प्रमाण पेस गर्न सकेमा अन्तरिम आदेशले निरन्तरता नपाउन सक्नेछ ।
तर, दुई न्यायाधीशको इजलासले समेत अन्तरिम आदेशको निरन्तरता हुने आदेश दिएमा उनी चुनावी प्रतिस्पर्धामा सहभागी हुन पाउनेछिन् ।