बुटवल । रुपन्देहीको तिलोत्तमा नगरको कार्यपालिका सदस्यको निर्वाचनमा सबै नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन् । बुधवार सम्पन्न भएको कार्यपालिका सदस्य निर्वाचनमा ८ जना नै नेकपा एमालेका उम्मेदार बिजयी भएका हुन ।
तिलोत्तमाका नगर प्रमुख सहित ९ वडाध्यक्ष र ३२ वडा सदस्य गरी ४२ जनप्रतिनिधि जितेको सत्ता गठबन्धन कार्यपालिका निर्वाचनपछि अल्पमतमा परेको छ भने उपप्रमुख सहित ८ वडाध्यक्ष र ३६ वडा सदस्य जितेको एमाले कार्यपालिकामा बलियो देखिएको छ ।
बुधवारको निर्वाचनमा एमालेका सुरेन्द्र श्री विश्वकर्मा, राधा शाही ठकुरी, लक्ष्मी घले, सावित्रा आचार्य, नरबहादुर छन्तेल, रवि सेन्चुरी, तारा सुनार र देवकी चौधरी निर्वाचित भएका छन् ।
तिलोत्तमा नगरको २७ सदस्यीय कार्यपालिकामा नेकपा एमालेले १७ सदस्य हात पारेको छ भने सत्ता गठबन्धन १० सदस्यमा सीमित भएको छ । यससँगै ९० सदस्यीय नगर सभामा नेकपा एमाले ४८ मतका साथ बहुमतमा रहेको र गठबन्धनतर्फ ४२ मत कायम भएको छ ।