काठमाडौं । हङकङमा चार राष्ट्र सम्मिलित महिला टी–२० क्रिकेट शृङ्खलामा तान्जिनियाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको तान्जिनियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन जोड्यो ।
तान्जानियाको लागि ऐशा मोहम्मदले २१ र सौम ताईले १६ रन बनाए भने नेपालको लागि संगीता राईले २ तथा पुजा महत्तो, इन्दु बर्मा र रुबिना क्षेत्रीले १-१ विकेट लिए ।
नेपाल कप्तान इन्दु बर्माको नेतृत्वमा पहिलो पटक प्रतियोगिता खेल्न लागेको हो । शृङ्खलामा नेपाल, तान्जिनिया र हङ्कङका अतिरिक्त चौथो टोलीका रूपमा जापान सहभागी छन् ।
शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । नेपाली टोलीमा सोमु विष्ट, कञ्चन श्रेष्ठ र सोनी पाख्रिनले पहिलो पटक अवसर पाएका हुन् भने रोमा थापा र सङ्गिता राईले पुनरागमन गरेका छन् ।
नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् । जारी प्रतियोगितामा नेपालका लागि तान्जानिया र जापान नयाँ प्रतिद्वन्द्वी हुन् ।
आइसिसी बरियतामा हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा छ । नेपालले कात्तिक २९ गते पहिलो खेल तान्जानिया सँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यस्तै ३० गते हङकङसँग र मंसिर २ गते जापानसँग खेल्नेछ ।