बुटवल । नेपालीहरुका महान चाडहरु आउने क्रम शुरु भएका छन् । यसै सन्दर्भमा चाडपर्व मनाउने क्रममा हाम्रो समाजमा विभिन्न विकृति र विसंगतिहरु फैलिरहेका हुन्छन । अझ यतिवेला कोभिड–१९ को विकराल समस्यासँग जुदिरहेको समाजलाई केही मात्रामा भएपनि सकरात्मक सन्देश दिने उद्देश्यले युनिक डिजिटलले छोटो भिडियो सन्देश सार्वजनिक गरेको छ ।
युनिक डिजिटलका सञ्चालक त्रिभुवन पाण्डेको निर्देशनमा बनेको उक्त भिडियोमा कलाकारहरु सम्झना ढकाल, सुनिल दर्जी, आर्यन न्यौपाने, साहित्य न्यौपाने, सरु पाण्डे लगायतको भूमिका रहेको छ ।
भिडियो निर्देशक त्रिभुवन पाण्डेले अहिलेको महामारीमा सानो लापरवाही गर्दा आफ्नो तथा आफन्तजनको ज्यान गुमाउन सक्ने घटनाको परिकल्पना गरी त्यस्तो हुन नदिन भिडियो मार्फत सन्देश दिइएको बताउनुभएको छ । वहाँले – ‘‘हामी यतिबेला महामारीको कारण ठूलो नोक्सानीको सामना गर्दैछौं र हाम्रो सानो लापरवाहीले गर्दा हाम्रा आफन्तजनलाई गुमाउन सक्छौं । तेसैले यो भिडियो सामाजिक जागरूकताको सन्देश दिने र हाम्रो परिवारलाई सुरक्षित राख्नको लागि आवश्यक सावधानी अपनाउने उद्देश्यले बनाइएको हो ।’’ – भन्नुभयो । वहाँले विगतमा धनी र गरिव विचको विभेदसँग सम्बन्धित भिडियो सुख दुखको कोशेली बनाएको र यसवर्ष कोभिड महामारीमा सानो लापरवाहीका कारण ज्यान गुमाउन सक्ने सन्देशमुलक भिडियोको भाग–२ सावजनिक गरिएको बताउनुभएको थियो ।
भिडियो छायांकनका लागि एकता आमा समुह देवदह–७, महाकाली मन्दिर ब्यवस्थापन समिति, देवदह–७, बन्दना खनाल र श्याम चापागाईले विशेष सहयोग गर्नुभएको थियो । सन्देशमुलक भिडियोको कथा गणेश भण्डारी र सुनिल दर्जीले तयार गर्नुुभएको थियो । ब्यवस्थापक गोकुल पाण्डे र छायांकन बासुदेव पुरीले गर्नुभएको उक्त भिडियो युनिक डिजिटलको युटुव च्यानलमा राखिएको छ ।