देवदह // चाडपर्वले सम्पूर्ण नेपालीहरुको आपसी सम्बन्ध प्रगाढ बनाइराख्नुको साथै यसको धार्मिक, साँस्कृतिक एवम् सामाजिक महत्वलाई बचाइराख्नु पर्ने प्याब्सन रुपन्देहीका बरिष्ठ उपाध्यक्ष एकनारायण काफ्लेले बताउनु भयो। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)देवदह द्वारा आयोजित विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् , छठ पर्व लगायत अन्य पर्वहरुको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त बिचार व्यक्त गर्नुभएको हो।
विश्व नै आर्थिक मन्दीमा फसिरहेको अवस्थामा आफ्नो हैसियत अनुसार पर्व मनाउनु पर्नेमा जोड दिंदै विदाको समयमा शिक्षक तथा विद्यार्थीहरुले अध्ययन कार्यलाई पनि जारी राख्नु पर्ने बताउनु भयो। कार्यक्रममा प्याब्सन देवदहका प्रमुख सल्लाहकार बोधराज गौडेलले निजी विद्यालयहरु आफै आर्थिक संकटमा परिरहेको अवस्थामा पर्वहरुले खासै उल्लास ल्याउन नसकेको बताउनुभयो।
कार्यक्रममा प्याब्सन देवदहका सल्लाहकार महेश पराजुली, कोषाध्यक्ष टिकाराम चापागाई, सदस्य प्रेम नारायण केवट लगायतले शुभकामना सन्देश व्यक्त गर्नुभएको थियो। कार्यक्रम अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षता र सचिव कृष्णप्रसाद गैरेको सञ्चालनमा सम्पन्न भएको थियो।