भैरहवा । व्यवसायिक उडानको तयारीका क्रममा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३० पुगेको छ ।
दिउँसो तीन बजे उड्ने भनेको जहाज अबेर गरी उडेको हो । जहाज ५ः५५ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । विमानस्थलको धावनमार्गमा अवतरण गरिसकेको नेपाल एयरलाइन्सको वाइडबडी ए ३३० जहाज केहीबेर धावनमार्गमा रोकिएको थियो ।
सो परीक्षण उडानमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका एक प्राविधिकका अनुसार काठमाडौंको त्रिभुवन विमानस्थलबाट गएको जहाज अवतरण गरिसकेपछि जहाज मोड्ने बेला जहाज केही परसम्म पुगिसकेका कारण आवश्यक मोड पुगेन । यो उडान परीक्षणका रुपमा गरिएकाले पाइलटले भेउ नपाएको हुन सक्छ ।
त्रिभुवन विमानस्थलको विकल्पका रुपमा तयार भएको यो विमानस्थलमा काठमाडौंकै क्षमतामा जहाजहरु उडान तथा अवतरण गर्न सकिन्छ ।
गौतमबुद्ध विमानस्थलमा २ जेठबाट नियमित उडान गर्ने तयारी रहेको छ । यो उडानमा पर्यटनमन्त्रीसहित पर्यटन मन्त्रालय, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरणसहितका प्रतिनिधिहरु रहेका थिए ।