काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीबाट कोही बाहिरिदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने बताउनुभएको छ । वहाँले एमालेमा आएको विभाजनलाई अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम भनेर टिप्पणी गर्नुभएको छ ।
माधवकुमार नेपाल एमालेबाट अलग भएर नयाँ दल दर्ताको लागि निवेदन दिएपछि महासचिव पोखरेलले सो धारणा सार्वजनिक गर्नुभएको हो ।
नेकपा (एमाले) भित्री बाहिरी सबै किसिमका प्रतिकूलताहरूसित जुद्धै नेपाली जनताबाट पटक पटक अनुमोदित भएको राजनीतिक पार्टी भएको र यो गतिशील पार्टीबाट कोही बाहिरिदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने बताउनुभएको छ । वहाँले सामाजिक सञ्जालमा विज्ञप्ति मार्फत लेख्नुभएको छ – ‘फुटको विगत हामी सबैले देखेका– भोगेका हुनाले केही मानिसहरू कुण्ठा तथा बदलाको भावना बोकेर बाहिरिदैमा धैर्यता नगुमाउन देश तथा प्रवासमा रहेका नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई हार्दिक अपिल गर्दछु । नेकपा (एमाले) पार्टी तथा आन्दोलनलाई अगाडि बढाउन संकल्पवद्ध छ , दृढताका साथ अघि बढिरहनेछ ।’