काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य सुरू भएको छ । संघीय संसदको दुवै सदनको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गरिरहेका छन् । बजेटले समेटेका विषयहरु यस प्रकार रहेका छन् ।
सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढ्यो
सरकारले निजामती कर्मचारीहरुको तलबभत्तामा १५ प्रतिशतले वृद्धि गरेको छ । बजेटमार्फत सरकारले कर्मचारीहरुले खाइपाइ आएको भत्तालाई पनि निरन्तरता दिएको छ ।
भौतिक पूर्वाधारमा १ खर्ब साढे ६१ अर्ब
आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार मन्त्रालयमा १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार मन्त्रालयमा १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरिएको छ । आइतबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधारमा उक्त रकम विनियोजन गरिएको जानकारी गराए । काठमाडौंको चार भञ्ज्याङ चार सुरुङ बनाउनका लागि सम्भाव्यता अध्ययन गरिने बजेटमा उल्लेख छ । सरकारले रेलवे र मेट्रो रेलका लागि ६ अर्ब र सडक मर्मत सम्भारका लागि ७ अर्ब विनियोजन गरेको छ । कोटेश्वर र नयाँ बानेश्वरमा अन्डरपास सुरु गरिने जानकारी दिँदै अर्थमन्त्री शर्माले कलंकी महाराजगञ्ज चक्रपथ विस्तारका लागि १ अर्ब विनियोजन गरिएको बताए । नौबिसे मुग्लिन सडकका लागि १० अर्ब, मदन भण्डारी राजमार्गका लागि २ अर्ब , पूर्वपश्चिम राजमार्गका लागि ३० करोड र फास्ट ट्र्याकका लागि ३० अर्ब विनियोजन गरिएको अर्थमन्त्रीले बताउनुभयो ।
प्रमाणपत्रका आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइने :
सरकारले युवा स्टार्टअप कार्यक्रम अन्तर्गत युवाहरुलाई उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तु गर्दै युवाहरुलाई उत्पादमूलक उद्यम, तालिम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रम अन्तर्गत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताउनुभएको हो ।
उत्पादन र व्यापारको लागि फरक व्याजदरः उद्योगीलाई सस्तो, व्यापारीलाई महंगो
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालमा उत्पादन वृद्धि गर्न सरकारले यो योजना अगाडि सारेको बताएका हुन् । नेपालमा उद्योग गर्दाभन्दा व्यापार गर्दा छिट्टै मुनाफा कमाउन सकिने भनेर व्यापारतिर आकर्षण देखिँदै आएको थियो । अब उत्पादनका लागि लिने ऋणको व्याजदर कम भएपछि उद्योग स्थापना बढ्ने विश्वास गरिएको छ ।
काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने द्रुतमार्ग निर्माण गरिने
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बाट काठमाडौं–चितवन द्रुतमार्ग निर्माण प्रक्रिया अघि बढाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । ‘काठमाडौंदेखि चितवनको यात्रा एक घण्टामा गर्नेगरी चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवनु द्रुतमार्ग पहिलो चरणमा निर्माण गर्ने र चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग नीजि क्षेत्रको लगानीमा निर्माण गर्न लगानी वोर्ड नेपाल मार्फत प्रक्रिया अघि बढाइने छ,’ मन्त्री शर्माले भने । यसबाट काठमाडौंदेखि बुटबल र काठमाडौंदेखि पोखरासम्मको यात्रा उल्लेख्य रुपमा छोटिने उनले जनाए छ ।
वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण दिने घाेषणा
सरकारले वैदेशिक रोजगारीमा गएकाहरुलाई प्राथमिक धितोपत्र बजारमा १० प्रतिशत सेयर आरक्षित गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज आव २०७९/८० को बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् ।
बढेन वृद्ध भत्ता, ६८ वर्षदेखि पाइने
सरकारले सामाजिक सुरक्षा अन्तर्गत बृद्ध/बृद्लाई बाँडिदै आएको वृद्ध भत्तालाई यथावत राखेको छ । आइतबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले वृद्ध भत्तालाई यथावत राख्दै वृद्ध भत्तालाई ७० वर्षबाट ६८ बर्षमा झारेको हो । प्रधानमन्त्री देउबाले वृद्ध भत्तालाई ६५ बर्षमा झार्ने बताए पनि अहिले ६८ बर्षमा झारेको छ । सरकारले वृद्ध भत्ता लिने उमेर २ बर्ष घटाएका कारण सरकारी कोषमा भार थपिएको छ ।
रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजित
सरकारले रेल मेट्रो रेल आयोजनाका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण मार्फत उक्त कुरा बताएका हुन् । पूर्वपश्चिम रेलमार्गको बर्दिबास–निजगढ खण्डको निर्माण कार्यलाई तीव्रता दिइने अर्थमन्त्री शर्माले बताए । वीरगन्ज–काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रो रेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने उनको भनाइ छ । विराटनगर–धरान, पथलैया–वीरगन्ज, भैरहवा, बुटवल र पोखरा उपत्यकामा ट्राम यातायातको सम्भाव्यता अध्ययन गरिने उनको मन्त्री शर्माले बताए । जयनगर–जनकपुर–कुर्था यातायात रेल सेवा विस्तार गरी विजयपुरसम्म यातायात सञ्चालन गरिने उनको भनाइ छ । विजयपुरा बर्दिबास र विराटनगर खण्डमा जग्गा प्रक्रियाका लागि स्रोतको प्रबन्धन मिलाएको उनको भनाइ छ । विर्तामोड–जलेश्वर–जनकपुर रेल यातायात सेवा विस्तारको सम्भाव्यता अध्ययन गरिनेछ ।
स्नातक र स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई स्थानीय तहमा न्यूनतम ९० दिन स्वयंसेवा गराइने
सरकारले स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीले तीन महिना स्थानीय तहमा स्वयंसेवा गराउने नयाँ सोच अघि सारेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै सो व्यवस्था समेटेका हुन् । बजेटमा उल्लेख भएअनुसार प्राविधिक विषयमा स्नातक र अन्यमा स्नातकोत्तर पढ्ने विद्यार्थीलाई ९० दिनसम्म स्वयंसेवा गराइने भएको छ । स्थानीय तहको योजना निर्माण तथा ग्रामीण विकासमा योगदान गर्ने गरी न्यूनतम ९० दिन स्वयंसेवामा लगाउन सम्बन्धित विश्वविद्यालयले आवश्यक व्यवस्था मिलाउने अर्थमन्त्रीले बताए । बजेटमा शिक्षासँग सीप भन्ने अभियानका साथ माध्यमिक तह अध्ययन गर्ने विद्यार्थीलाई सीपमूलक तालिम प्रदान गर्ने गरी पाठ्यक्रम विकास गरिने उल्लेख छ । यस्तै माध्यमिक तह उत्तीर्ण भएसँगै स्वावलम्बी बन्ने गरी कुनै एक व्यवसायिक दक्षता हासिल गराई स्वराेजगार बन्न सक्षम बनाइने बजेटमा उल्लेख छ ।
राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिने
सरकारले साइबर सुरक्षाको सुनिश्चितता गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज बजेट भाषणमार्फत सो घोषणा गरेका हुन् । ‘साइबर सुरक्षाको सुनिश्चितता, २१ औं शताब्दीको आवश्यकता’ को अवधारणाअनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिने उनले जानकारी दिए । उक्त केन्द्रलाई साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्द्धन र डिजिटल फरेन्सिक अनुसन्धान सम्बन्धी अधिकार प्राप्त निकायको रुपमा विकास गरिने अर्थमन्त्री शर्माको भनाइ छ ।
इन्टरनेटको शुल्क घटाउने सरकारकाे घोषणा
सरकारले इन्टरनेटको शुल्क घटाउने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत इन्टरनेटको पहुँच बढाउन शुल्क घटाउने बताएका हुन् । बजेटमार्फत राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्नसमेत बजेट विनियोजन गरिएको छ । हेर्नुहोस् पूर्ण पाठ: