बुटवल। भारतको जम्मूकश्मिरमा आतंकवादी हमलामा मारिएका मध्ये एक नेपाली बुटवल-१४ बेलबरियाका सुदीप न्यौपाने भएको खुलेको छ ।
उनी ४ दिनअघि शनिबारमात्र आमा, बहिनी र ज्वाइँलाई लिएर घुम्न गएको पारिवारिक स्रोतले बतायो ।
आतंकवादी आक्रमणबाट उनको मृत्यु भएको पुष्टि भएको उनका काका बुटवल १४ का वडाध्यक्ष दधिराम न्यौपानेले बताए । सुदीप परिवारका एक्ला छोरा हुन् । उनी धरानमा पब्लिक हेल्थ पढ्दै थिए ।
गत शनिबार आमा रिमा पाण्डे, बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ्ले सहित भारत घुम्न गएका उनिहरु हिजो मात्रै कस्मिर पुगेका थिए । कश्मिर गएका सुदीपमाथि बन्दूकधारीहरूले अचानक आक्रमण गरेको वडाअध्यक्ष न्यौपानेले बताए ।
सुदीपका बुवा बुटवल-१४ बेलबरियामा विक्षिप्त अवस्थामा छन् । सुदीपको शव बुधबार नेपाल ल्याउने तयारी गरिएको काका दधिरामले बताए ।
‘शवलाई कश्मिरबाट दिल्ली र दिल्लीबाट काठमाडौं ल्याउने तयारी गरिएको छ, अहिले म काठमाडौं पुगिसकेको छु १२ बजे कश्मिरबाट उड्ने समय छ,’ उनले सुनाए ।
जम्मू(कश्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा उनी परेका हुन् । वडा अध्यक्ष न्यौपानेका अनुसार बन्दूकधारीहरूको उक्त समूहले बाटोमा हिँड्दै गरेका सुदीपलाई ‘नाम र धर्म के हो’ भन्दै सोधेपछि एकाएक गोली हानेको थियो । साथमा रहेका आमा, बहिनी र ज्वाइँ सकुसल छन् ।
स्थानीय देविराम मरासिनीले न्यौपाने परिवारमा यस्तो पीडादायी घटना भएको भन्दै दुस्ख जनाए ।