बुटवल । राइड सेयरिङ व्यवसायको कम्पनी पठाओको मोटरसाइकल तथा ट्याक्सी सेवा देशका १८ वटा सहरमा बिस्तार भएको छ ।
यसअघि काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित सेवालाई देशका प्रमुख सहरहरु बुटवल, पोखरा लगाएत सातै प्रदेशमा बिस्तार गरिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए ।
लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा बिस्तार भइसकेको छ । यस अगाडि सेवा बिस्तारको योजनामा समावेश नभए पनि स्थानीयको मागअनुसार कर्णाली प्रदेशको वीरेन्द्रनगरमासमेत सेवा बिस्तार गरिएको बस्न्यातले बताए ।
स्वरोजगार सिर्जना र जनजिवन सहज बनाउँदै काठमाण्डौ उपत्यकामा लोकप्रिय रहेको पठाओलाई देशभर फैलाउन पाउँदा निकै उत्साहित भएको बस्न्यातले बताए ।
कोशी प्रदेशका नौ सहर बिराटनगर, दमक, उर्लाबारी, बिराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा पठाओको सेवा बिस्तार भएको छ ।
मधेस प्रदेशको वीरगञ्ज र जनकपुरसँगै देशकै पर्यटकीय राजधानी गण्डकी प्रदेशको पोखरामा पनि पठाओको राइड सेयरिङ सेवा शुरु भएको छ ।